global ime bank Long Banner Ad

गृहपृष्ठ सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा

सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा

सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा

शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडा–हर्कपुर सडकखण्डको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने थियो । त्यसका लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।

तर निर्माण व्यवसायीको लापरवाहीका कारण उक्त सडक स्तरोन्नति करिब ३२ प्रतिशतमात्रै सकिएको छ । दुलेगौडाहर्कपुर सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि भएको सम्झौताको म्याद पटक-पटक थप भएको छ । अन्तिमपटकका लागि विसं २०८० जेठ १४ गतेसम्म म्याद थप भएको थियो । उक्त अवधिमा पनि प्रगति भएको छैन ।

निर्माण व्यवसायीको लापरवाहीका कारण सकिसक्नुपर्ने सडकको काममा ढिलाइ हुँदा स्थानीय मर्कामा परेको शङ्कर पन्तले बताए । उनले भने, “वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले काम गरिदिएको भए अहिलेसम्म सहज भइसक्थ्यो ।”

उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित रहेको स्थानीय हरि खड्काले बताए ।

सोही सडकको काम छिटो गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि दबाब यात्रा सुरु गरेको छ । पार्टीको केन्द्रीय निर्देशनबमोजिम देशभरका विकास आयोजनामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा आज उक्त सडकमा दबाब यात्रा गरिएको हो ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहेका वाग्लेले विकास निर्माणमा भइरहेको ढिलाइपछि सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गरिएको जानकारी दिए । उनले भने, “दबाब नदिइकन काम नगर्ने प्रवृत्ति बढ्दो छ । त्यसका लागि सबैको चासो र दबाब आवश्यक छ ।”

डा वाग्लेले सदनदेखि सडकसम्म आवाज उठाएर अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गराउन पार्टी लागिपरेको बताए । उनले भने, “सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्या सुधार गर्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ ।”

 

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु