नबिल बैंकको साधारणसभा सम्पन्न, ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
वि.सं.२०८० पुस १२ बिहीवार १८:४४
shares

नबिल बैंकको ३९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार सम्पन्न सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंक सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो आर्थिक वर्षमा बैंकले ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो ।
नबिल बैंकले वित्तीय क्षेत्रमा करिब चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ ।
सभामा बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । उनले भने, ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृश्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ ।’ बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
सभामा अध्यक्ष पौड्यालले नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप– नबिल एसएसई) सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार, समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो । हालसम्म ३ सय ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले बताए ।

























