काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एउटै वडाको सेवा दुई ठाउँबाट

6.45K
shares

स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ। भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिएको हो।

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालले बताए।

साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनको भनाइ छ।

‘हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौं’, खनालले भने, ‘आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौं।’

वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गई सेवा प्रवाह गर्दै आएका छन्।

सुरुका दिनमा केही अन्योलतामा भए पनि अहिले भने सेवाग्राहीलाई पूर्ण जानकारी भइसकेको वडाध्यक्ष खनालले बताए। ‘नभइ नहुने अत्यावश्यक सेवा, सिफारिस लगायतका कामका लागि दुईमध्ये जुनसुकै कार्यालयबाट लिन पाइयो’, उनले भने।

वडा कार्यालयले दुई ठाउँमै भवन निर्माण गरी कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेको छ। दुई ठाउँबाट सेवा पाउने भएपछि लामो समय खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । उक्त वडामा हाल चार हजार सात सय नागरिक बस्दै आएका छन्।