गृहपृष्ठ लिभरपुल कार्वाओ कपको सेमिफाइनलमा
लिभरपुल कार्वाओ कपको सेमिफाइनलमा
वेस्ट ह्याममाथि ५-१ को प्रभावशाली जित निकाल्दै लिभरपुल कार्वाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति एनफिल्डमा लिभरपुलले गोल वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्याे।
खेलमा लिभरपुलले २८ औं मिनेटमा डोमिनिक सोबोस्ज्लाईको गोलमार्फत् अग्रता लिएको थियो। कर्टिस जोनेसले दोस्रो हाफको ११ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। कोडी गाक्पोले जारी सिजनको आठौं गोल पूरा गर्दा ३-० को अग्रता बनाउन लिभरपुल सफल भयो।
जेराड बोउनले ७७ औं मिनेटमा एक गोल फर्काएपनि ८२ औं मिनेटमा मोहम्मद सलाहले टिमका लागि चौंथो गोल गरे। ८४ औं मिनेटमा जोनेसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल सम्भव बनाउँदा लिभरपुलले फराकिलो जित निकाल्यो।
१९९८ पछि लिभरपुलले वेस्टह्याम विरुद्ध आफ्नो घरेलु मैदानमा ५ गोल गरेको हो। पछिल्लो पटक लिभरपुलले २०२२ मा यो प्रतियोगिताको उपाधि जितेको थयो।
१० औं पटक उपाधि होडमा रहेको लिभरपुलले अब फाइनल प्रवेशका लागि ८ जनवरीमा फुलह्यामसँग पहिलो लेग खेल्दा दोस्रो लेग दुई हप्ता पछि हुने छ।
प्रकाशित समय : ०८:३३ बजे



















