गृहपृष्ठ १४ घण्टासम्म खुलेन अवरुद्ध कोशी राजमार्ग
१४ घण्टासम्म खुलेन अवरुद्ध कोशी राजमार्ग
एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन् ।
राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटे भन्ने स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए ।
एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडकखण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ ।
सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जाजुबाबु महर्जनले जानकारी दिए ।
शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोहि टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।
पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनी सामान्य घाइते छन् ।
ओरालो र घुम्ती सडक भएको कारण दुर्घटा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुईओटा क्रेन घटनास्थलमा लगेर बाटो खुलाउने प्रयत्न गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १२:२७ बजे

















