कोशीमा काँग्रेसको कोइराला समुहलाई एमालेको समर्थन !
वि.सं.२०८० असोज २५ बिहीवार १८:१५
shares

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा काँग्रेसको कोइराला समुहले गठबन्धनको निर्णय विपरित केदार कार्कीलाई अगाडी सारेको छ ।
नेकपा एमालेका समर्थनमा काँग्रेसको कोइराला समुहले कार्कीलाई अगाडी सार्दै मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । उनलाई कांग्रेसका ९ र एमालेका ३९ सदस्यको समर्थन रहेको छ । कार्कीलाई एमालेका प्रमुख सचेतक रेतवीरमण भण्डारीलगायतका सांसदहरुले लिएर पुगेका थिए ।
त्यसैगरी गठबन्धनको निर्णयअनुसार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका छन् । आङ्बोले दलका नेताहरुको हस्ताक्षर लिएर पुगेका थिए । तर आङ्बोले पुरानो हस्ताक्षर प्रयोग गरेर दाबि पेश गरेपछि दुवै समुहबीच विवाद भएको छ ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था भएपछि गत शनिबार राजीनामा दिएका थिए । यससँगै कोशीमा कुनै दलको स्पष्ट बहुमत नआएका कारण मिलिजुली सरकार र सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्थाको अभ्यास असफल भएको थियो ।
सोही कारण गत शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । उपधारा ५ मा सभाको बहुमत प्राप्त गर्ने सक्ने व्यक्ति मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । यो कोशी प्रदेशमा सरकार बनाउने संबिधान अनुसारको अन्तिम विकल्प हो ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी गर्न दिएको म्याद शुक्रबार सकिँदै छ ।
























