काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाडपर्व मुखैमा छ, बजार फेरि महंगियो

8.02K
shares

नेपाली जनता अहिले चर्को मूल्यवृद्धिका साथ जीवनयापन गर्न बाध्य छन् । बजारमा हरेक सामानको मूल्य छोइनसक्नु गरि बढेको छ । त्यसै त व्यापारीहरुको राज चल्ने बजारमा चाडवाड नजिकिँदै गर्दा झन् उपभोक्ताको ढाड सेकिने गरि बजारभाउ महंगिएको छ ।

त्यसो त बजार यसैपनि महंगिएको छ नै । तर चाडपर्वकै मुखमा अचाक्ली मुल्यवृद्धिको मारमा जनता परिरहेका छन् । भारतबाट चामल निर्यातमा प्रतिबन्ध लाग्दा चामलको मुल्य छोइनसक्नु छ भने दाल, मसला, जिरालगायत अन्य खाद्यान्नको मूल्य पनि आकाशिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य पसलै पिच्छे फरक फरक हुँदा आम उपभोक्ताको जीवनयापन कष्टकर बन्दै गएको छ । नुनदेखि सुनसम्म भएको चौतर्फी मूल्यवृद्धिका कारण नागरिक मारमा छन् । सेवाका लागि भन्दा पनि फाइदाकै लागि व्यापार गर्ने व्यापारीलाई चाडबाड मौकामा चौका हान्ने अवसर मिलेको छ ।

बजारमा व्यापारीको मनोमानी मूल्यवृद्धिले गर्दा उपभोक्ताको ढाड नराम्रोसँग सेकिएको छ । तर, यसको नियमन गर्ने निकाय उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने आफूहरुले दैनिक अनुगमन गर्दै आएको बताउँछ । विभागले नियमित, उजुरी र आशंकाका आधारमा तीन किसिमले बजारको अनुगमन गरिरहेको बताएको छ ।

गत आर्थिक वर्षमा सरकारले ३५ सय अनुगमन गर्न लक्ष्य दिएपनि ३६ सय ९५ अनुगमन गरेको विभागको दाबी छ । विभागले कसुरको प्रकृति अनुसार न्यूनतम ५ हजारदेखि तीन लाखसम्म र गम्भीर किसिमको कसुरलाई मुद्धा चलाउनेसम्मको कारबाही गर्ने कानुन भएको बताउँछ । तथापी विभागको अनुगमनले जनतामा खासै प्रभाव भने पार्न सकेको छैन । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरेपनि महंगी नियन्त्रणमा आउन सकेको छैन ।

जनैपूर्णिमा लागेपछि नेपालीहरुको चाडपर्व सुरु हुन्छ भन्ने पुरानो चलन छ । जनैपूर्णिमालाई घरभित्र हुलेसँगै हरितालिका तीज, बडादशै, तिहारजस्ता ठूला पर्व नेपालीहरुको घरआँगन नै आईपुगेको संकेत गर्ने बुझाई स्थापित हुँदै आएको पनि छ । चाडबाड नजिकिएसँगै बजार पनि निक्कै महंगिने गर्छ । सरकारले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकतामा त राख्छ, तर अनुगमन कर्मकाण्डीमात्रै बन्दा उपभोक्ता महंगीको मारबाट मुक्त भने हुन सकेका छैनन् । आम उपभोक्ता, निजी साझेदार, व्यापारी सबैले आ–आफ्नो भूमिका निभाई दिने हो भने स्वच्छ बजार बल्ल कायम हुन्छ । एउटा पसललाई कारबाही गर्दा त्यो क्षेत्रमा रहेका अन्य थुप्रै पसललाई कारबाही गरे सरह हुन्छ । ऐन, नियम विपरित काम गरियो भने चाहे जो सुकै होस् राज्यको नियामक निकायबाट उम्कन नसक्ने सन्देश दिन जरुरी छ ।