नेपाल र पाकिस्तानको क्रिकेट हेर्न जनकपुरका सबै बिद्यालय बन्द
वि.सं.२०८० भदौ १३ बुधवार १४:४७
shares

एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।
वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।
आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ।
नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।
यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।

























