आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
वि.सं.२०८० भदौ ९ शनिवार ११:४०
shares

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।
कोप–२८ मा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भई राष्ट्रिय स्थितिपत्र तयार गर्दैछ । यसका लागि नेपालले सम्मेलनमा सहभागिताको मार्गचित्रबमोजिम विभिन्न काम गरिरहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए ।
आगामी सम्मेलनमा विश्वस्तरमा ऊर्जा सङ्क्रमण र न्यूनीकरण, तापमान वृद्धि एक दशमलव पाँच डिग्रीमा सीमित गर्न कडाइ गर्ने, जलवायु वित्त वितरण, जलवायु परिवर्तनमा देखिएका समस्याको प्राकृतिक आधारमा समाधान गर्ने कार्ययोजना, सम्मेलनलाई पूर्ण समावेशीतालगायत विषयलाई प्राथमिकतामा राखिने गरी तयारी भइरहेको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।
सचिवालयको तालिकाअनुसार सम्मेलनको उद्घाटन कार्यक्रम ३० नोभेम्बरमा हुनेछ । डिसेम्बर १ र २ मा विश्व जलवायु कार्य सम्मेलन, डिसेम्बर ३ मा स्वास्थ्यरराहत, पुनस्थापना र शान्ति विषयक सत्र, डिसेम्बर ४ मा वित्तरव्यापाररलैङ्गिक समानतारउत्तरदायित्व, डिसेम्बर ५ मा ऊर्जा, उद्योग र सङ्क्रमणसम्बन्धी सत्र, डिसेम्बर ६ मा बहुस्तरीय कार्य, सहरीकरण र वातावरण निर्माण, यातायात विषयका सत्र सञ्चालन हुनेछन् ।
यसैगरी डिसेम्बर ८ मा युवा, बालबालिका, शिक्षा र सीप, डिसेम्बर ९ मा प्रकृति, जग्गाको प्रयोग र समुद्रिक विषयक सत्र, डिसेम्बर १० मा खाद्य, कृषि र पानी विषयक सत्र तथा डिसेम्बर ११ र १२ तारिखमा अन्तिम वार्ता हुने तालिका रहेको छ । सम्मेलनमा यसबाहेक विभिन्न मिश्रित विषयका सत्र समानान्तर रुपमा सञ्चालन हुने सचिवालयले जनाएको छ ।
मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय निर्देशन समिति, वनसचिवको संयोजकत्वमा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।
यसबाहेक जलवायु वित्त, अनुकूलन, हानि नोक्सानी, उत्सर्जन, हिमाल र जलवायु, लैङ्गिक युवा, जलवायु प्रविधिलगायतका विषयगत समूह गठन गरी नेपालको राष्ट्रिय स्थितिपत्र तयार गर्ने सहसचिव पौडेलले बताए । यसका लागि मन्त्रालयले सहभागितामूलक रुपमा विज्ञ र वैज्ञानिक, सङ्घीय सांसद, निजी क्षेत्र, सङ्घ र प्रदेश सरकारका मन्त्रालय, स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मिडियासँग अन्तक्र्रिया गरी स्थित पत्र तयार गर्ने जनाएको छ ।
सहसचिव पौडेलले भने, “सम्मेलनमा नेपालको उच्चस्तरीय र प्रभावकारी सहभागिता रहनेछ । विज्ञ सम्मिलित विभिन्न विषयका वार्ता गर्ने समूहको तयारी थालिएको छ । सो अवसरमा द्विपक्षीय र बहुपक्षीय भेटवार्ता तथा साइडलाइन बैठक र वार्ता हुनेछन् । नेपालका जलवायुका क्षेत्रमा गरिएका राम्रा र सफल कार्य तथा उपलब्धीको प्रदर्शनी गरिनेछ ।”

























