गृहपृष्ठ बारामा तीर्थयात्री बोकेको बस दुर्घटना : सातको मृत्यु, १९ जना घाइते
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना : सातको मृत्यु, १९ जना घाइते

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरू पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : ०८:५२ बजे