गृहपृष्ठ चेपुवामा नारायणकाजी–प्रचण्ड, दबाब बढाउँदै देउवा
चेपुवामा नारायणकाजी–प्रचण्ड, दबाब बढाउँदै देउवा
कोशी सरकारमा आएको ज्वरोले बिरामी परेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार शीर्ष नेताहरुबीचको बैठकमा गएनन् । न उनी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमै सहभागी भए । मध्यरातमा गरिएको सहमति भाले नबास्दै भाँडियो । जबकि एमालेकै माग अनुसार सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरिय छानबिन आयोग बनाउने सहमति सोमबारको मध्यराति नै भएको थियो । सोमबारकै सहमति मंगलबार बिहानै भाँडिएपछि राष्ट्रिय राजनीति एकाएक तरंगित बन्यो ।
छानबिन आयोग गठन गर्ने दलहरुको सहमति अनुसार एमालेले संसद अवरोध नगर्ने र मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङको नेतृत्वमा मस्यौदा समिति नै बनेको थियो । काँग्रेसका रमेश लेखक र माओवादीका हितराज पाण्डे सदस्य रहेको समितिले मंगलबार बिहानसम्म आफ्नो फत्ते पनि गरेको थियो । तर ओली बैठकमा बस्न तयार नभएपछि १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर स्थगित गरियो । तर यता ओली अमेरिकी राजदूत डिन. आर. थम्पसनसँग मंगलबार बिहानै बैठकमा बस्न राजी भए । जसले पनि अब सत्तामा सहज अवस्था नभएको संकेत गरिसकेको थियो । प्रसंगबिनाको भएको राजदूत–ओली भेटले रातारात सहमती भाँडिएको शंका गर्ने सुविधा दियो ।
सोमबार पश्चिमको सुर्खेतमा रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वपट्टी रहेका एमाले अध्यक्षबीचको संवादले लचकता ल्याएपछिमात्रै सहमतिको वातावरण बनेको थियो । मात्रै ठूला दलको साँची बनेका साना दललाई शीर्षबीच एक खाले सहमति बनिसकेपछि मात्रै बैठकमा बोलाइएको थियो । तर शीतलनिवासको सक्रियता देखाएर एमाले थप असन्तुष्ट बन्ने काम गर्यो । शीतलनिवास पस्न नपाएपछि यसअघि नै केन्द्रसहित सातै प्रदेशको सरकार गुमाउन बाध्य बनेको एमाले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा खुशी छैनन् । किनकि पौडेलको शीतलनिवास प्रवेश नै एमालेको ओरालो राजनीतिक यात्राको प्रस्थानविन्दु बनेको हो ।
मंगलबारको असन्तुष्टि भुलेर ओली बुधबार दलहरुको बैठकमा सहभागि बनेपछि एक खाले सहमति बनेको छ । विमानस्थलबाट तस्करी भएको ६० किलो सुनमाथि अनुसन्धान गर्न छानबिन आयोग बन्ने र त्यसैले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर ल्याएको नौं किलो सुन तस्करी र त्यसमा जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि छानबिन गर्ने सहमति बनेको छ । सोही सहमतिमा टेकेर एमालेले बुधबार संसद बैठक चल्न दिएको छ । तर यता सत्ता गठबन्धन भित्रको हाल ठिकठाक चलिरहेको छैन । कारण हो, सत्ता गठबन्धनको ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बढ्दै गएको तिक्तता ।
देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठका कदममाथि असन्तुष्टि जनाउँदै पदबाट हटाउनसमेत प्रधानमन्त्रीलाई दबाब दिएको विषय सार्वजनिक भएको छ । देउवालाई खुशी पार्नकै लागि प्रधानमन्त्रीको ठाँडो निर्देशनमा गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई सरुवा गरेका छन् । किनकि आफ्ना प्रिय पात्र बालकृष्ण खाँणलाई पक्राउ गरि कारागार चलान गरेदेखि नै देउवा सन्तुष्ट छैनन् । पछिल्लो पटक एसएसपी मनोज केसी नेतृत्वको उपत्यका अपराध अनुसन्धान महाशाखाले थप १८ जनाको जाहेरी लिएर शरणार्थी प्रकरणका योजनाकार केशव दुलाल र सानु भण्डारीको फेरि बयान लिने तयारी गरेको थियो । जसबाट झस्किएको देउवाले सरकारमाथि सिधैं हस्तक्षेप गरेर सरुवा हानिदिएका हुन् । त्यसका लागि तीनपटक गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देउवा आफ्नै निवासमा बोलाएर दबाब दिए । आफ्नै पार्टीका मात्रै बचाएको भन्दै उनी जंगिएपछि अर्का उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई देउवा मनाउन सकस प¥यो । त्यतिहुँदा पनि शुभ संकेत नपाएपछि नारायणकाजीलाई नै हटाउन देउवा अघि सरेको चर्चा छ । हुँदाहुँदा प्रचण्डकै विकल्प खोज्ने छलफल काँग्रेसभित्र भएपछि सरकार पूर्णतः अहिले गलेको अवस्थामा छ । किनकि काँग्रेसभित्र प्रचण्ड यही तरिकाले चले विकल्प खोज्ने विषय जोडतोडले उठिरहेको छ । देउवाकै बलमा सत्ता टिकाइरहेको माओवादी भने निरीह जस्तो छ ।
देउवालाई अर्काे मन नपरेको विषय गृहमन्त्रीले माओवादी केन्द्रका उपाध्यक्ष महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याएनन् । विद्युतीय चुरोट ‘भेप’मा ल्याएको सुन तस्करी प्रकरणमा संलग्न भनिएका चिनियाँ व्यापारीसँग पटक पटक सम्पर्क रहेको खुल्दा पनि आफ्नालाई बचाएको अर्थमा काँग्रेसले बुझिरहेको छ । योसँगै काँग्रेसलाई सरकारभित्र प्रश्न उठाउने विषय मिलेको छ । गृहमन्त्रीले जस आफू लिएर काँग्रेसको भागमा अपजसमात्रै देखाउन खोजेको भन्दै काँग्रेसकै नेताहरुले गर्न थालेको आलोचना देउवाले सुन्न थालेका छन् । झन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठका विश्वास पात्र भनिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग डिल गरेको विषय सार्वजनिक भएको छ । यसले कतै न कतै सुन तस्करीको जानकारी गृहमन्त्रीलाई पहिले नै थियो वा उनी जानकार थिए भन्नेसम्मको शंका दिएको छ । वा दावासँग उठबस रहेका माओवादी नेता बर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन के पुरापुर अनविज्ञ थिए त ? भन्ने प्रश्न पनि उब्जाएको छ ।
यता सुनकाण्डमा लिएको अडानमा सफल भएको एमाले अब सत्ता यात्राको खोजीमा छ । देउवा र गृहमन्त्रीबीचको तिक्ततालाई उसले मौकाका रुपमा हेरिरहेको छ । भारतीय ‘फेभर’को भनेर चिनिएका प्रचण्ड नेतृत्वको सरकार चलिरहेका बेला अमेरिकी राजदूतसँगको भेट लगत्तै ओली फेरिएको विषयले कतै एमाले–काँग्रेसकै सहकार्यको खोजी भएको हो कि ? भन्ने शंका गर्न थालिएको छ । सधैं दोहोरो रणनीतिमा हुने ओली अहिले पनि दोहोरै नीतिमा छन् । सके आफ्नै नेतृत्वमा सरकार, होइन भने प्रचण्डलाई हटाएर देउवासँगको गठबन्धन, यदि त्यो पनि भएन भने आफुबाट हरण भएका प्रचण्डलाई देउवाबाट फिर्ता ल्याउनेसम्मको विकल्पमा ओली बल प्रयोग गरिरहेका छन् । तर काण्डैकाण्डका बलमा सत्ता टिकाइरहेका प्रचण्ड पनि कम शक्तिशाली छैनन् ।
पहिला प्रचण्डको निशाना रास्वपाका सभापति रवि लामिछाने बने । नागरिकता मुद्दामा गृहमन्त्री पद नै गुमेपछि फेरि फर्किन चाहेका रविलाई रोकेर ढोका बन्द गरिदिए । सरकारमा सहभागि रास्वपाका मन्त्रीलाई फिर्ता बोलाएर रविले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए । लगत्तै काँग्रेसका बालकृष्ण खाँण र एमालेका बहालवाला सचिव तथा आफ्नै पूर्वसहकर्मी टोपबहादुर रायमाझी प्रचण्डको पञ्जामा परे । उनीहरु अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार चलान भएका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई पनि प्रचण्डको दबावपूर्ण राजनीति झेलिरहेका छन् । काँग्रेसभित्र छिरेर सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयले समेत आधा काँग्रेस सन्तुष्ट छैन । गौरहत्याकाण्डको हतियार प्रचण्डले उपेन्द्र यादवको काँधमाथि तेस्र्याएका छन् । गिरीबन्धु टि–स्टेटको फाइल खोल्छु भन्दै एमाले अध्यक्ष ओलीको ढाँड सेक्ने काम पनि जारी छ । सत्ताका लागि प्रचण्ड कुन बेला को माथि कुन हदसम्म पुग्छन् भन्ने कुनै ग्यारेन्टी छैन । ‘प्रचण्ड चतुर खेलाडी हुन् ।’, राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले भने, ‘प्रचण्डले २० चलाखी गर्दा ओली–देउवाले ३/४ वटाको मात्रै पत्तो पाउँछन् । यही अवस्थामा चले उनी पाँचै बर्ष सरकारमा टिक्न सक्छन् । माधव नेपाल त अब प्रधानमन्त्री बन्ने नैतिक आधार छैन । यसले प्रचण्डलाई नै फाइदा पुग्नेछ ।’
सबै नेताहरु एकहिसाबले प्रचण्डको दबाबमा छन् । तर प्रचण्डलाई दबाब दिने काम भने देउवा एक्लैले गरिरहेका छन् । तथापी सबै पार्टीका नेताको कुण्डली बोकेर सत्तामा रहेका प्रचण्ड कुनै अवस्थामा सरकार छोड्ने ठाउँमा पुगे ३० दिन त कसैले समर्थन फिर्ता लिएर बहुमत गुमेपनि सत्तामै हुन्छन् ।
विगतका सरकारका कमी कमजोरीलाई आफ्नो शक्तिको ढाल बनाएका प्रचण्ड ओलीको गिरिबन्धुदेखि माधव–बाबुरामलाई ललिता निवासमा जाँक्नेदेखि काँग्रेसका नेताहरु जोडिएका भ्रष्टाचारका फाइल हातमै बोकेर बसिरहेका छन् । उनी अहिलेसम्म देउवा रिझाउने, नारायणकाजीलाई ब्याक गराएरै भएपनि सरकार टिकाउने र सकेसम्म लचकता अपनाउने पक्षमै छन् । तर पटकपटकका संकटहरु सहजै टार्दै आएका प्रचण्ड अबको संकटलाई कसरी पार लगाउँछन् ? हेर्न बाँकी छ ।
प्रकाशित समय : ०९:०० बजे


















