युनिलिभर नेपालको नाफा १६ प्रतिशतले बढ्यो
वि.सं.२०८० साउन ३२ बिहीवार १४:००
shares

युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले १ अर्ब ५४ करोड नाफा कमाएकोमा गत आवमा बढेर १ अर्ब ८३ करोड पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले कुल ७ अर्ब ४५ करोड आम्दानी गरेकोमा गत आवमा बढेर ८ अर्ब ६७ करोड पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख छ । कम्पनीले जगेडामा ४ अर्ब २६ करोड भन्दा बढी सञ्चिति गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १ हजार ६७५ रहेकोमा गत आवमा बढेर१ हजार ९८८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ छ ।

























