जोमसोम बजारमा कालीगण्डकीको कटान
वि.सं.२०८० साउन ३० मंगलवार १९:४९
shares

कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङको सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो ।
कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि मुस्ताङ अस्पतालतर्फ ५० मिटर दूरीमा सडक चिराचिरा परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए।
“एघार मिटर फराकिलो सडकको डिलतर्फको करिब आठ मिटर चौडाईमा धाजा फाटेपछि आज बिहानदेखि यातायात सञ्चालन गर्न रोकेका छौँ”, उनले भने, “जोमसोम अस्पतालको भवन र दशभन्दा बढी व्यक्तिका घर जोखिममा परेका छन् ।” बाढीले ग्याबियन र मेसिनरी पर्खाल भत्काएर बस्तीतर्फ कटान गर्न थालेपछि जोखिम बढेको हो ।
गाउँपालिकाका अध्यक्ष लालचनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कटान गरेको ठाउँमा ग्याबियन पर्खाल बनाएर कटान नियन्त्रण र सडक सञ्चालन गर्न खटिएको बताएका छन् ।
शनिबार र आइतबार दुई दिनको लगातारको झरीका कारण मुस्ताङका खोलामा बाढी आएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागखोलामा आएको बाढीले आइतबार राति कागबेनीमा २९ वटा घरसहित प्रहरी चौकी, वडा कार्यालय, मोटरेबल पुल, झोलुङ्गे पुल, मन्दिर गुम्बा, धर्मशालालगायत भौतिक संरचना बगाएको छ ।
कागखोलाको बाढी मिसिएर जोमसोममा आएको बाढीले कटान गर्न थालेको हो । यसैबीच मुस्ताङको विपद् व्यवस्थापनका लागि म्याग्दी जिल्लाको विपद् व्यवस्थापन समितिले तीन हजार लिटर डिजेल उपलब्ध गराएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार पोखरामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएकाले म्याग्दीबाट डिजेल पठाउने निर्णय गरेको थियो ।

























