कर्णाली नदीको सतह बढ्यो, बस्तीमा पस्ने जोखिम
वि.सं.२०८० साउन २८ आइतवार ०८:२९
shares

लामो समय बर्षा भएपछि कर्णाली नदीको जल सतह ह्वात्तै बढेको छ । नदी अब बाढीमा पस्ने जोखिम छ । यसैले नदी आसपासका बस्तीहरुमा उच्च सतर्कता अपनाउनुपर्ने भएको छ । नदीले कटान गर्दा धेरै ठाउँ जोखिममा परेका छन् ।
कैलालीको टीकापुर–५ उद्यान पार्क नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।
पार्क क्षेत्रमा कर्णाली नदी तटबन्ध भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ ।
नदी कटान तीव्र भएपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ ।
मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए ।
नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।
नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुङ्गा)सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो ।
खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिवारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।

























