बेनी–जोमसोम सडक खण्ड : बैसरीमा पहिरोको जोखिम
वि.सं.२०८० साउन २५ बिहीवार १२:२४
shares

बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए ।
बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ‘रेफर’ गरिएकामा उहाँको अहिले शल्यक्रिया पश्चात आइसियूमा उपचार भइरहेको छ ।
एक सातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ ।
चार दिनपछि सडकमा थुप्रिएको पहिरो ‘डोजर’को सहायताले पन्छाएर आंशिक रुपमा सडक सुचारु भएको केही घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकमा भय र त्रास सिर्जना गरेको छ ।
यसअघि पनि यस पहिरोबाट खसेको ढुङ्गा लागेर सवारी चालक र यात्रु पटक–पटक घाइते भइसकेका छन् ।
बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमर्गसँग जोड्ने बेनी–जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ ।
राहुपारे र बैसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अवरुद्ध हुन थालेको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत यो सडक कालोपत्रसहित निर्माणधीन छ ।
बैसरीमा गएको पहिरोको कारण अवरुद्ध बनेको र जोखिमपूर्ण सडकको वैकल्पिक मार्ग तिलकेनी–बगैँचा–रानीपौवा–चौर–रिसिनचौतारी–माछखर्क हुँदै बेगखोला सडक भए पनि यो सडक उपेक्षामा परेको छ । मोटरसाइकल, जीप लगायतका साना सवारी साधन आवतजावत गर्ने यो सडकलाई वैकल्पिक मार्गको रुपमा विकास गनुपर्ने स्थानीयवासीको माग छ ।
साँघुरो र जीर्ण अवस्थामा रहेको वैकल्पिक सडकलाई स्तरोन्नती गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीयवासी प्रेम केसीले बताए ।
‘‘मुख्य बाटो पहिरोको जोखिममा छ, वैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा वैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदासम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’’,उनले भने । वैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयवासीको गुनासो छ ।
बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडक बाढीपहिरोको कारण जोखिमयुक्त मानिन्छ । यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ ।
निर्माणधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ‘ट्र्याक’ भए पनि स्तरोन्नती गरी सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

























