ललिता निवास प्रकरण : तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०८० साउन २२ सोमवार ०८:४६
shares

ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार र दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।
आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरा ल्याउन सरकारलाई आदेश दिएको थियो । आदेश आएकै दिन जिल्ला अदालतले पनि तीन पूर्वमन्त्री गच्छार, श्रेष्ठ र जोशीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
२०६६÷२०६७ तिर माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री गच्छार र श्रेष्ठ भूमि सुधार मन्त्री थिए । बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९ मा जोशी भूमि सुधार मन्त्री थिए । गच्छार र श्रेष्ठ प्रधानमन्त्री, प्रधानन्यायाधी र समामुखको सरकारी निवास विस्तारका नाममा ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्ने र नक्कली मोहीलाई सट्टा भर्ना दिने निर्णय भएको थियो ।
आइतबारमात्रै आएको आदेश अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि अनुसन्धान गर्ने बाटो खुलेको छ । दुबै जना पूर्वप्रधानमन्त्रीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।

























