अदालतको फैसला जानकारीमा रहेको भन्दै बिहानै विदेश उडे माधव नेपाल
वि.सं.२०८० साउन २२ सोमवार ०९:२६
shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल विदेश भ्रमणमा गएका छन् ।
प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको सचिवालयले जनाएको छ । ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन् ।
उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट नेपाल आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि उडेका हुन् ।
सर्वोच्च अदालतको अदालतबाट भएको फैसलाका सन्दर्भमा नेपाल जानकार रहेको पनि सचिवालय जनाएको छ ।
सचिवालयले भनेको छ, ‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ। उहाँ भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।’
माधवकुमार नेपालसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध पनि सर्वाेच्चले अनुसन्धानको बाटो खोलेको छ । आजमात्रै तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

























