गृहपृष्ठ कोशी प्रदेशसभाका सभामुख गौतमले पदबाट राजीनामा दिए
कोशी प्रदेशसभाका सभामुख गौतमले पदबाट राजीनामा दिए
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएका छन् । सभामुख गौतमले इमेलमार्फत उपसभामुखलाई राजीनामा पठाएका हुन् ।
सरकार गठनका लागि दाबी गर्न आवश्यक संख्या नपुग्ने भएपछि मंगलबार दिउँसो कोशी प्रदेशसभाका सभामुख गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् ।
सभामुखबाट गौतमले राजीनामा दिएसँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । त्यसका लागि चारवटै दलका प्रदेशसभा सदस्यहरूको हस्ताक्षर गराइएको छ ।
सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
यसअघि सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो ।
उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो । त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । उक्त समयसीमा आज साँझ ५ बजेपछि सकिँदैछ ।
प्रकाशित समय : १५:४० बजे


















