global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नेपालमा जुनसुकै देशका निर्माण व्यवसायी पनि सफल हुन सक्दैनन्’

‘नेपालमा जुनसुकै देशका निर्माण व्यवसायी पनि सफल हुन सक्दैनन्’

‘नेपालमा जुनसुकै देशका निर्माण व्यवसायी पनि सफल हुन सक्दैनन्’

नेपालका करिब २४ हजार निर्माण व्यवसायीहरु अहिले आन्दोलनमा छन् । सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । निर्माण व्यवसायी महासंघले साउन ५ मा व्यवसायीहरूको राष्ट्रिय भेला गरेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । महासंघले ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास घेराउ गर्ने र सार्वजनिक खरिद अनुगमनको कार्यालय घेराउ गर्नेसम्मका काम गरिरहेको छ ।

महासंघले आफ्नो मागसहित चरणबद्ध आन्दोलन चर्काउँदा पनि सरकारले उनीहरुका माग सम्बोधन गर्न चासो देखाएको छैन । महासंघको माग के हो ? सरकारले किन चासो देखाएको छैन ? नेपालका निर्माण व्यवसायी कति सक्षम ? आयोजनाहरु बेलामै सम्पन्न नहुनुको दोषी को ? यी र यस्ता प्रश्नको उतर खोज्न न्युजकारोबारकर्मी रमेश पौडेलले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग कुराकानी गरेका छन् । यस्तो छ सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईँहरु किन आन्दोलनमा हुनुहुन्छ ?

निर्माण व्यवसायी महासंघले कुनै रहरले आन्दोलन गरेको होइन । यो आन्दोलन बाध्यता हो । किनकि सरकारले हामीलाई दिनुपर्ने ५० अर्ब रुपैयाँभन्दा बढी रकम दिएकै छैन । जसमध्ये ४ अर्ब बढी रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खोनपानी मन्त्रालयले २/२ अर्ब रुपैयाँ भुक्तानी दिएका छैनन् । रकम मागका कालगि अर्थ मन्त्रालयमा फाइल पुर्‍याएको छन् । तर फाइल अगाडी बढेको छैन । सहरीलगायत अन्य विकासे मन्त्रालय गरी अर्थमा कूल १० अर्ब रुपैयाँ बजेट माग गर्दै मन्त्रालयले अर्थमा फाइल पुर्‍याएका छन् । तर, कतैबाट पनि भुक्तानी भएको छैन । माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगायतका बिषयमा सरकार गम्भीर भएन । २०७६ वैशाख २० गते लागु भएको सार्वजनिक खरिद नियमावलीको छैंठौ संशोधन तथा २०७९ साल असार २० गते आएको १२औं संशोधनमा आयोजना प्रमुखले सबै आयोजनाको अवधि १ वर्ष थप्ने व्यवस्था भएको थियो । तर यो अवधिमा कुनैपनि पनि योजनाको समयावधि थपिने काम भएको छैन । हिजोको दिनमा १२ औं संशोधनमा म्याद थप गर्नका लागि निवेदन दिएर कागजातहरु बुझाएका कामहरुको म्याद थप भएको छैन । त्यही कारण हामी निर्माण व्यवसायीहरु आन्दोलनमा जान बाध्य भएका हौँ ।

तपाईँहरुका ठोस माग के–के हुन् ? माग सम्बोधनका लागि कहाँ–कहाँ पुग्नुभयो ?

हाम्रो मागका विषयमा हामीले बारम्बर भन्दै आएका छौँ । सरकारका व्यक्तिहरुलाई पनि हामीले ज्ञापनपत्र बुझाएका छौँ । सरकारका प्रधानमन्त्री, मन्त्री र अर्थमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरुलाई हामीले मागबारे जानकारी गराएका छौँ । तर पनि चासो दिईएको छैन । हामीले गरेको माग अरु केही होइन । हामीले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धि सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजना अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बिमा प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बक्यौता समयमा राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र कानुनमा संशोधन गरिनुपर्ने मागहरु उठाएका छौँ ।

तपाईँहरुको कामप्रतिको लापरबाहीलाई देखाएर सरकार माग सम्बोधनमा पछि हटेको हो कि ? किनकि, तपाईँहरुले बनाएका पुल र सडक बनि नसक्दै भत्किने, भाँचिने गर्छन् । त्यस्तो किन भएको होला ?

पुलको विषयमा हामीले नयाँ प्रविधि प्रयोग गरिरहेका छौँ । त्यो प्रविधि ‘फ्रि स्टेज ब्रिज’ हो । पुल बनाउँदा ढलान गरेर बीचमा केबल छिराइन्छ । ढलान गरेको २८ दिनपछि केबललाई तन्काइन्छ । पुलको भारबहन क्षमता केबलमा हुन्छ । विगतमा ४०/४५ दिनमा पनि केबल तान्न नसक्दा बाढी आएर पुल बगाएर लगेको छ । १/२ वटा पुल भने कमसल निर्माणका कारणले पनि बगाएको छ । डिजाइन बिग्रेका कारणले पनि निर्माण बिग्रेका उदाहारणहरु छन् । तर धेरै पुलहरु समयमा काम गर्न नपाएका कारणले बिग्रिएका हुन् । सरकारले निर्माण क्षेत्रका काम गर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु आवश्यक छ । नेपाली मजदुरले २० हजार तलब खाँदा भारतीय मजदुरले मासिक ४०/५० हजार तलब खाइरहेका छन् । सरकारले उपभोक्ता समितिलाई काम दिनुभन्दा पनि दक्ष जनशक्ति तयार पार्न लाग्नुपर्छ । सडकमा प्राविधिक समस्या पनि हुन्छ । सडकमुनि बग्ने ढलका कारण पनि सडक बिग्रिने गरेको छ । अहिले मेलम्चीका कारणले पनि धेरै सडकहरु भत्किएका छन् । पुराना पाइपहरुमा पानी पठाउँदा पाइपले धान्न नसकेर समस्या हुने गरेको छ । कालोपत्रेमाथि पुनः कालोपत्रे गर्दा पनि तत्कालै सडक बिग्रिने समस्या हुन्छ । गाउँगाउँमा उपभोक्ता समितिले बनाएका सडकहरुमा धेरै समस्या आएका छन् । उपभोक्ता समितिलाई सडक कालोपत्रे गर्ने विषयमा कुनै ज्ञान हुँदैन । अनि सडक बिग्रिन्छ । जहाँ सडक बिग्रिए पनि निर्माण व्यवसायीले नै गाली खाने गरेका छन् । निर्माण व्यवसायीले जिम्मा लिएको काम सम्पन्न भएपछि १ देखि ५ वर्षसम्म मर्मतको जिम्मा लिन्छौं । तर उपभोक्ता समितिमार्फत् भएका कामको कसैले पनि जिम्मा लिँदैनन् ।

निर्माण व्यवसायीले तोकेको समयमा निर्माण सम्पन्न नगर्ने परिपाटी छ । नेपालका निर्माण व्यवसायी असफल भएकै हुन् ?

तोकेको समयमा निर्माण सम्पन्न नहुनुमा हाम्रो देशको नीति नियम नै दोषी छ । हाम्रो नीति नियमले गर्दा यहाँ व्यवसायीहरु बदनाम भएका छन् । कतिपय अवस्थामा कुनै निर्माण व्यवसायीले गरेको फट्याईँले समस्या भएको छ । तर, धेरै चाहीँ नीति नियमकै कारणले गर्दा निर्माण व्यवासयीहरु असफल भएका छन् ।

कस्तो नीति नियम हुन् जसले कामै गर्न दिँदैनन् ?

हाम्रो देशका मात्रै होइनन्, कुनै पनि देशका निर्माण व्यवसायी यहाँ सफल हुनसक्ने अवस्था छैन । हाम्रो देशमा जापनिज निर्माण कम्पनीहरु पनि आएर काम गरेका छन् । चिनियाँले पनि काम गरेका छन् । भारतीय कम्पनी पनि काम गर्दै आइरहेका छन् । तर, कुनै निर्माण कम्पनी सफल भएका छैनन् । मैल भन्न खोजेको, समयमै निर्माण सम्पन्न गर्दा राजीनामा दिने र पुरै लागत बेहोर्ने जापनिज निर्माण कम्पनीहरु पनि नेपालमा सफल भएका छैनन् । त्यो हाम्रो देशको निर्माण सम्बन्धि नीतिले गर्दा हो । नेपालमा पनि थुप्रै यस्ता निर्माण कम्पनी छन्, जसले बेलामै आयोजना निर्माण गर्न सक्छन् । त्यसका लागि सरकारले व्यवसायी अनुकुल नीतिमा परिवर्तन ल्याउन आवश्यक छ ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु