तपाईँको धेरै खर्च गर्ने बानी छ ? यस्ताछन् खर्च कम गर्ने उपाय
वि.सं.२०८० असार ३० शनिवार ११:४७
shares
हामीमध्ये धेरैले भन्ने गरेको शब्द हो ‘जति कमाएपनि बच्दैन’ । तर, किन बच्दैन भनेर त्यसको बारेमा धेरै कम व्यक्तिले मात्र सोच्ने गरेका छौँ । तपाईँ हामीले पनि व्यापारबाट आएको होस् वा जागिरबाट कमाएको पैसा, बचाउन मुस्किल परेको महसुस गरिरहेका हुन्छौं । आउनुहोस्, आज हामी तपाईँलाई कम खर्च गर्ने केही उपाय सुझाएका छौं ।
सबैभन्दा पहिलो तपाईँले आफ्नो कमाईलाई विभिन्न भागमा छुट्याउनु पर्छ । अर्थात तपाईँले गर्ने खर्चलाई अलगअलग शिर्षक बनाएर कमाई अनुसार छुट्याउनु पर्ने हुन्छ । जस्तो कि, अत्यावश्यक खर्च, भैपरी आउने खर्च र बुढेसकालको खर्च गरेर तपाईँले आफ्नो कमाईलाई भाग लगाउनु पर्नेहुन्छ । तल दिएको कुराले तपाईँलाई अझ प्रष्ट पार्न सक्छ ।
अत्यावश्यक खर्च
दैनिक खर्चमा लत्ताकपडा, खाद्यान्न, बिजुली, पानी, बच्चाको स्कुल फि लगायतका धेरै कुराहरु पर्दछन् । यस्ता खर्च अत्यावश्यक खर्च अन्तर्गत पर्ने भएकोले यसको लागि कुल आम्दानीको ६५ देखि ७५ प्रतिशत भाग छुट्याउनु पर्छ । अत्यावश्यक खर्चलाई नै कम गर्नुपर्छ । फजुल खर्च गर्नबाट बच्नुपर्छ । जिम जानुहुन्छ भने उक्त खर्चमा कटौती गरेर नजिकैको पार्कमा बिहान–बेलुकी एक घण्टा कसरत गर्न सक्नुहुन्छ । घर वरिपरि साइकलिङ्ग गर्न सक्नुहुन्छ । साथीहरुसँग बाहिर जानै परेमा घरमै सोको व्यवस्था गराएर अनावश्यक खर्च कटौती राख्न सक्नुहुन्छ । बाहिर पिउनै परे ‘ह्यापीआवर’मा पिउन सक्नुहुन्छ । यसले पनि अनावश्यक खर्च कटौती गर्न निकै हदसम्म सहायता प्रदान गर्छ ।
भैपरी आउने खर्च
त्यसपछि बेलाखबत साथीभाइ तथा घरपरिवारबीचको जमघट पनि जरुरी हुन्छ । त्यसबाहेक कतै आउन जान पनि पैसाको आवश्यकता पर्छ । त्यसैले यस्ता कुरा गर्नका लागि पैसाको अभाव नहोस् भनेर आम्दानीको निश्चित भाग १० देखि १५ प्रतिशत रकम पहिले नै छुट्याउनु पर्छ ।
बुढेसकालको खर्च
२० प्रतिशत भागलाई अहिले देखिनै रिटार्यडमेन्टको लागि सुरक्षित राखेको खण्डमा यसले भविष्यमा पैसाको अभाव हुनदिदैँन । प्रत्येक व्यक्तिका लागि रिटार्यडमेन्टपछिको जीवन विशेष हुन्छ । रिटायर्डमेन्टपछि व्यक्ति शारीरीक तथा मानसिक रुपमा कमजोर हुन्छ । जसले गर्दा उक्त व्यक्ति अरुप्रति आक्षित हुनुपर्छ । त्यो नहोस् भन्नका लागि रिटार्यडमेन्टपछि पनि आपतकालिन स्थितिका लागि कुल आम्दानीको करिब २० प्रतिशत भागलाई अहिलेदेखि नै छुट्याएर राख्नु पर्दछ ।
त्यो २० प्रतिशत प्रत्येक वर्ष आफ्नो बचतमा करिब चार प्रतिशतसम्मको बढोत्तरी गर्न जरुरी छ । यसका लागि कतै जग्गाजमीन जोड्न सकिन्छ त, कतै फिक्स डिपोजिट वा शेयरमै पनि लगानी गर्न सकिन्छ ।

























