गृहपृष्ठ नागरिकता ऐनमा रहेका कमजोरी हटाउन मेरो उम्मेद्वारी : नारायण कंडेल

नागरिकता ऐनमा रहेका कमजोरी हटाउन मेरो उम्मेद्वारी : नारायण कंडेल

नागरिकता ऐनमा रहेका कमजोरी हटाउन मेरो उम्मेद्वारी : नारायण कंडेल

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको २०२३–२५ का लागि अध्यक्ष पदका उम्मेदवार डा. नारायण कंडेलले नागरिकता ऐनमा रहेका कमी कमजोरी हटाउन आफुलाई मत दिन आग्रह गरेका छन् । मंगलबार बर्मिङ्घममा आयोजित एक अन्तरक्रियामा बोल्दै डा . कंडेलले मुख्यतया तीन कारणले आफुलाई अध्यक्ष बनाउनु पर्ने बताए । उनले भने, ‘पहिलो कारण भनेको म उपयुक्त पात्र हुँ । गैरआवासीय नेपालीहरुका अहिलेका समस्या कानुनसँग जोडिएका छन् । नेपालको संविधान २०७२ ले गैरआवासीय नेपालीलाई हेर्ने दृष्टिकोण र नेपालको कानुनमा गैर आवासीय नेपालीहरुलाई गरिएको निषेधपूर्ण स्थिति अहिले हाम्रो सबैभन्दा ठूलो समस्या हो ।’

उनका अनुसार बेलायतमा भन्दा नेपालसँग गैरआवासीय नेपालीका धेरै समस्याहरु जोडिएका छन् । ‘बेलायतमा हामीले स्थायी आवासीय अनुमति पायौं भने यहाँ काम पाउँछौं । यहाँ सोसल सेक्युरिटी पाउँछौं । हामी नेपालभन्दा बेलायतमा हरेक कुराले सुरक्षित छौं । तर नेपालमा कानुनी र संवैधानिकरुपमा असुरक्षित छौं । हामी नेपाली भए पनि बेलायत आएर यहाँको स्थायी अनुमति पायौं भने हरेक वर्षको दशैं मान्न नेपाल जाँदा भिसा लगाएर जानुपर्छ । सुरुमा आउँदा तपाईंले पशुपतिनाथसँग यहाँ आउने प्राथना गर्नुभयो । तर त्यही प्राथना पूरा भएपछि प्रसाद चढाउन जान खोज्दा नेपालमा भिसा लगाउनु पर्ने बाध्यता छ । त्यसलाई हल गर्न पनि मैले जित्न आवश्यक छ ।’, उनले भने ।

डा. कंडेलले संविधानले अन्य नेपालीभन्दा गैरआवासीय नेपालीलाई फरक ढंगले प्रस्तुत गरेको बताए । ‘अधिकार पनि सीमित दिएको छ । र त्यो सीमित अधिकार पनि सिमित समयमा मात्रै प्रयोग गर्न पाइने अवस्था छ । एनआरएनए नागरिकता आफैमा नागरिकता नाम गरेको कागजभन्दा यसले ठूलो अर्थ राख्दैन । सन् २०१० मा प्रोफेसर सूर्य सुवेदीले गैरआवासीय नेपालीलाई सम्पूर्ण अधिकारसहितको नागरिकताको वकालत गर्नुभयो । तर पछि उहाँ नै गैरआवासीय नेपाली संघमा अटाउनु भएन । त्यहाँ उहाँजस्तो राम्रो मान्छेभन्दा पनि एनआरएनएमा मनी र मसलको बाहुल्यता भयो । जब अन्य चीजहरु बोल्छन् तब विवेक बन्धक हुन्छ । नेतृत्वको कार्यक्षमता खास गरी २०१० देखि २०१५ को बीचको नेतृत्वले गल्ती गर्दा अहिले हामी धेरै अधिकारहरुबाट बञ्चित भएका छौं । गैरआवासीय नेपाली कानुनले हाम्रो सम्पत्ति बेच्नका लागि मात्रै भनेको छ भने देवानी संहिताको ४३२ नम्बरमा हामीले नेपालमा जोडेको सम्पत्ति विदेशीको सरह हुने र त्यो विवादित हुने उल्लेख छ । यस्तै गलत कानुन बन्दा पनि दिपावली गर्ने हाम्रो एनआरएनएको नेतृत्व रहेका कारण पनि हामीले अहिले दुःख पाएका हौं । गैरआवासीय नेपालीहरुका विरुद्ध नेपालमा ७ वटाभन्दा धेरै कानुनहरु छन् । तिनीहरुको सम्बन्धमा सबैभन्दा प्रभावकारी हिसावले डिल गर्न सक्ने उपयुक्त पात्र म नै हुँ । अन्य उम्मेदवार अयोग्य भनेको पक्कै होइन । उहाँहरुभन्दा मेरो दक्षता बढी छ मात्र भनेको हुँ ।’, डा. कंडेलले भने ।

डा. कंडेलले अगाडी भने, ‘गैरआवासीय नेपाली संघमा मैले ४ वटा प्रभावकारी काम गरेको छु । २०६३ सालमा गैरआवासीय नेपाली संघको ऐन बनेपछि हामीले पहिला कोर सिटिमा मात्रै रहेको एनआरएनएलाई फराकिलो बनाउनका लागि अभियान नै चलायौं । त्यतिबेलाका अध्यक्ष मुछेत्र गुरुङले वार्ताको लागि बोलाउँदा म वार्ता गर्न पुगेको थिए । सुरुमा लण्डनमा २ हजार सदस्य रहनु भएको थियो । हामीले यसलाई बढाएपछि ४ हजार बढी पंजीकृत सदस्यहरु हुनुहुन्छ । त्यो मैले गरेको काम हो ।’

नेपाललाई दुख्दा पहिले आफुलाई दुख्ने गरेको डा. कंडेललको भनाइ छ । जस्तो कि, २०१९ मा कोभिड आयो । यतिबेला बेलायत सरकारले विभिन्न भाषामा कोभिडको सुरक्षा र सतर्कताबारे सूचनाहरु प्रकाशित गर्ने गर्थ्यो । इंग्ल्याण्डको पब्लिक हेल्थको वेभसाइटमा । तर त्यहाँ नेपाली भाषामा थिएन । गैरआवासीय नेपाली संघको त्यतिबेलाको कार्यसमितिले अरुलाई काम दिए पनि मलाई काम दिएको थिएन । त्यतिबेला मैले अध्यक्षलाई भाषा सम्बन्धमा ब्रिटिश सरकारसँग डिल गर्ने अनुमति दिनुस् भनेपछि अनुमति दिनुभयो । त्यसपछि हामीले गरेको पहल स्वरुप नेपाली भाषामा सामग्रीहरु प्रकाशन भए । यो मैले सुरु गरेको अभियान हो । मैले मात्रै गरेर यो भयो भन्ने त मलाई लाग्दैन तर पहल मैले गरेको हुँ । यसलाई मैले दोस्रो काम भनेको छ ।’

तेस्रो काम : ‘गैरआवासीय नेपाली अभियानमा युवाहरुलाई जोड्ने काम गरौं भनेर कुरा गर्यौं । बढीभन्दा बढी गरेको काम भनेको तीजमा नचाउने मात्रै हो । यसैगरी आजभोलि स्कुलमा नेपाली भाषा पढाउने काम शुरु भएको छ । कोभिडको बेला हामीले चित्रकला प्रतियोगिता गरेका थियौं । त्यतिबेला हुलाकबाट जीवन्त चित्रहरु आए । २ सय जनाले भाग लिनुभयो । हामीले नेपालको झण्डा र आफूलाई मनपर्ने विषयमा चित्र बनाउन भनेका थियौं । उहाँहरुले यसरी नेपालको माया पनि देखाउनु भयो ।’

चौंथो काम : ‘तपाईँ हाम्रो जीवनमा एनआरएनएबाट अत्यावश्यक चिज स्थापित गराउन सकिएको छैन । यो संस्थाले दिनानुदिन हामीलाई यही कुरा गर्छ भन्ने कुनै चिज छैन । रवि लामिछानेले नागरिकताका कारण जसरी राजनीतिक सम्पत्ति गुमाउनु भयो । पत्रकार भएर काम गर्नुभयो विदेश जानुभयो । विदेशी पासपोर्ट लिनुभयो फेरि नेपाल आउनुभयो र पुरानो नागरिकता प्रयोग गरेर गृहमन्त्री, सांसद बन्नुभयो । तर अदालतले त्यो नागरिकतालाई खोटो सिक्का बनाएपछि उहाँले राजनीतिक सम्पत्ति गुमाउनु भयो । त्यो राजनीतिक सम्पत्ति नभएर भौतिक सम्पत्ति भएको भए पनि त्यसको परिणाम त्यही हुन्थ्यो । यो केस पछाडि प्रचार बढी भयो । र अब नेपालमा बस्ने दाइभाईदेखि छरछिमेक सबैसँग झगडा छ, सम्पत्तिका कारण । अहिले तपाईँहरु परिवार भेट्न नेपाल जानुहुन्छ भनेपछि तारिख बोक्न नेपाल जानुपर्ने अवस्था आउनसक्छ । त्यसैले एनआरएनले एनआरएनएका लागि के गर्न सक्छ भनेर हामीले नेपाल बार एशोसिएशनसँग सम्झौता गरेका छौं । यो सम्झौता अनुसार गैरआवासीय नेपालीहरुलाई नेपालमा अप्ठेरो पर्दा मुद्दा लडिदिने व्यवस्था गरेका छौं । बारसँग एनआरएनए युकेले गरेको सम्झौता अनुसार निःशुल्क प्रारम्भिक सुझावहरु दिने व्यवस्था देशैभरका बारहरुबाट मिलाएका छौं । यस विषयमा भएको प्रगति हालै बारले पठाएको छ । यो कन्सेप्ट मैले सिर्जना गरेको हो भने डकुमेन्टेसनको काम पनि मैले गरेको हुँ । यसमा प्रोफेसर सूर्य सुवेदीले मिहिन ढंगबाट संशोधन गरेर राम्रो बनाउने काम गर्नुभएको छ । तपाईंहरुको नेपालमा रहेको सम्पत्ति सुरक्षाका लागि पनि म अध्यक्ष हुन जरुरी छ ।’, कंडेलले भने ।

बेलायतमा अहिले थुप्रै मानिसहरु बंशजको नागरिकताको कुरा गरिरहेका छन् । तर आफुले २०१९ मै गैरआवासीय नेपाली नागरिकताको काम छैन भनेर भनेको कंडलले बताए । ‘यो प्रभावकारी छैन भनेर भनेको थिएँ । गैरआवासीय नेपालीहरुलाई चाहिने नागरिकता भनेको बंशजको नागरिकता हो भनेर त्यतिबेलै भनेको थिए । अहिले बल्ल बेलायतमा बंशजको नागरिकताको कुरा गर्नुहुन्छ ।’

अध्यक्ष बनाउनुपर्ने तेस्रो कारण

‘म डेडिकेटेड क्यान्डिडेट हुँ । एनआरएनएका कार्यक्रमहरु लण्डनमा हुन्छन् । म हरेक कार्यक्रममा आउँदा टिकट काटेर फ्लाइटमार्फत आउँछु । म रातिको समयमा काम गर्छु । काम गर्नुपर्ने भएकाले साथी कहाँ बस्नुभन्दा होटेलमा बस्छु । मेरो एक पटकको लण्डन भ्रमण भनेको कमसेकम २५० पाउन्ड हो । २०१९ देखि अहिलेसम्म एनआरएनए युकेको कार्यसमितिमा छु । यहाँहरुलाई स–गौरव साथ भन्छु, म ९५ प्रतिशतभन्दा बढी बैठकमा उपस्थित भएको छु । म बेलायतमा यही संस्थाको मात्रै सदस्य छु । जहिलेदेखि लागे त्यतिबेलादेखि निरन्तर लागि रहेको छु ।’

उनले अगाडी भने, ‘मेरा प्रतिस्पर्धीले कम्युनिटी मिलाउनका लागि उम्मेद्वर हुन्छौं भन्नु भएको छ । उहाँहरुले भन्न के खोज्नुभएको हो भने उहाँहरुले प्रेम गाहा मगरतर्फ संकेत गर्नुभएको छ । मसँग प्रतिस्पर्धा गर्नु भएका २ जना साथीहरु बेलायतको समाज मिलाउनका लागि निर्वाचन अगाडि प्रेम गाहाको कार्यसमिति छ त्यो अस्तित्व स्वीकार गर्न तयार हुनुहुन्छ ? म तयार छु । प्रेम गाहा मगरले जुन कार्यसमिति सञ्चालन गर्नुभएको छ त्यो समानान्तर हो । उहाँहरुले प्रेम गाहाको अस्तित्व स्वीकार गर्नुहुँदैन भने उहाँले समाज मिलाउने कुरा गर्नु भनेको नाटक मात्रै हो । हामी संस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्न चाहन्छौं । २००३ मा स्थापना भएको संस्थामा यसभन्दा अगाडि को–को अध्यक्ष हुन् भन्ने रेकर्ड पनि छैन । यो संस्थाले कति आम्दानी र कति खर्च गरेको छ भन्ने रेकर्ड पनि छैन । हामी यो संस्थालाई डिजिटलाइज्ड गर्न चाहन्छौं । नेपालमा हाम्रो स्वार्थ रक्षाका लागि काम गर्न चाहन्छौं । बेलायतमा नेपालको संस्कृति र संस्कार प्रमोट गर्न चाहन्छौं’, कंडेलले भने ।

एनआरएनए युकेमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरि सकेका कंडेलले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उक्त कार्यक्रममा महासचिव पदका उम्मेदवार गोविन्द खरेल र उपाअध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र आलेले पनि आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु