गृहपृष्ठ बैंकले कर्जाको पुन: संरचना गर्दा ऋणी मर्कामा, बैक तरलताबाट जोगिदै 

बैंकले कर्जाको पुन: संरचना गर्दा ऋणी मर्कामा, बैक तरलताबाट जोगिदै 

बैंकले कर्जाको पुन: संरचना गर्दा ऋणी मर्कामा, बैक तरलताबाट जोगिदै 

नेपाल राष्ट्र बैंकले गत जेठ मसान्तसम्मको वित्तीय विवरणहरू प्रकाशित गरेसँगै ओभर ड्राफ्टजस्ता कर्जालाई आवधिक कर्जामा पुनः संरचना वा रूपान्तरण गर्ने संकेत बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् । बैंकले गत जेठ मसान्तसम्मको वित्तीय विवरणहरू प्रकाशितपछि बैंक तथा वित्तीय संस्थाले चालू पुँजीपनि परिर्वतन गर्ने पाइएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा आवधिक कर्जा २३.४ प्रतिशत बढेको छ । यो वर्ष राष्ट्र बैंकले १२ प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिमा राखेको थियो । तर त्यसको एक चौथाईमात्रै कर्जा विस्तार भएको देखिन्छ । जबकि, कुल कर्जाको आकार केवल ३.२ प्रतिशत मात्रै बढेको देखिन्छ ।

राष्ट्र बैंकले नै गत फागुमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ऋणको पुनः संरचना र पुनः तालिकीकरण गर्न पाउने भनेको थियो । त्यस्तै अधि विकर्षण (ओभर ड्राफ्ट) एवम् चालु पुँजी कर्जालाई राष्ट्र बैंकले नीतिगत नियन्त्रण गर्न खोजेको थियो ।

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाको ओभर ड्राफ्ट कर्जा ६७.६ प्रतिशत घटेको छ । यसको मतलब एक वर्षअघि ३ सय रुपैयाँ कर्जा भएकोमा अहिले ९८ रुपैयाँमा झरेको छ । यो वास्तवमै कर्जा घटेको होइन, यसको पुनः संरचना भएको हो ।

फलस्वरूप अत्यन्तै धेरै कर्जा पुनः संरचना भएर आवधिक कर्जा (टर्म लोन) मा परिणत भएको छ । यही मौका छोपेर बैंकहरुले त्यस्ता अल्पकालीन प्रकृतिका ऋणीमाथि सके ऋण तिर्न, नसके पुनः संरचना गर्न दबाब दिए ।

आवधिक कर्जाको आकार भने २ खर्ब ८० अर्ब हाराहारी बढेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सर्वाधिक ३०.४ प्रतिशत कर्जा टर्म लोनमा दिएका छन् ।

राष्ट्र बैंकले कम अवधिका लागि लिइने ऋणमा कडाइ गरेपछि पुनः संरचनाको लहर चलेको हो । यसै कारण एकै वर्षमा ४ खर्ब ८६ अर्बभन्दा बढीले ओभर ड्राफ्ट कर्जाको आकार खुम्चिएको छ । कर्जा विस्तारमा देखिएको यो सङ्कुचनको असर सिङ्गो अर्थतन्त्रमै पनि परेको छ ।

भने,झन्डै दुई वर्षदेखि मन्दीमा फसेको घरजग्गा कारोबारमा यो साल पनि करिब १८ अर्ब घरजग्गा ऋण बढेको देखिएको छ । कित्ताकाट रोकिएको, घरजग्गाको मूल्य सस्तिएको र बैंकहरुले त्यसतर्फ लगानी गर्न निरुत्साहित देखिएका बेला पनि कुल कर्जामा ५।१ प्रतिशत हिस्सा ओगट्ने घरजग्गामा ऋण बढेको देखिएको छ ।

यसपछि कर्जाहरू भने ओभर ड्राफ्टबाट घरजग्गा कर्जामा रूपान्तरण भएको पनि बैंकरहरुले बताएका छन् । राष्ट्र बैंकको तथ्याङ्कले पनि त्यस्तो देखाउँछ ।

यसै वर्षदेखि राष्ट्र बैंकले ‘नगद सापटी कर्जा’ नयाँ वर्गीकरण गरेको छ । यस्तो कर्जामा यस वर्ष ५ खर्ब १६ अर्बभन्दा धेरै वर्गीकृत भएको छ । यसको सबैभन्दा ठुलो हिस्सा ‘बिजनेस लोन’को नाममा प्रवाह भएको छ ।

हाल कर्जा गत सालभन्दा २४ प्रतिशत अर्थात् १ खर्ब २६ अर्ब हाराहारी घटेको छ । यस प्रकारको व्यावसायिक कर्जाहरू गत जेठसम्म ३ खर्ब ९७ अर्ब ७० करोड हाराहारीमा झरेको छ । जबकि, गत साल यही अवधिमा ५ खर्ब ४१ अर्ब ५४ करोडभन्दा बढी थियो ।

चालु आर्थिक वर्षमा साल कर्जा सङ्कुचनको मारमा भने साना तथा घरेलु उद्योग र विपन्न नागरिकहरू सबैभन्दा ठुलो मारमा परेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कले भन्छ, ‘घरेलु उद्योग र साना तथा मझौला उद्योगलाई प्रदान हुने ऋण, सुन तथा मुद्दती निक्षेपको धितोमा दिइने ऋण र बैङ्कहरूका केही विशिष्टीकृत ऋणहरू व्यापक मात्रामा घटेको छ ।’

गत सालसम्म कुल कर्जाको १५.१२ प्रतिशत रहेको यस्तो कर्जाको आयतन अहिले ४.८ प्रतिशतमा झरेको छ । तर ओभर ड्राफ्ट कर्जालाई आवधिकमा ढाल्दा यसको ऋण तिर्ने समय लामो हुन्छ । बढी समय पैसा तिर्नुपर्ने भएपछि यसको ईएमआई अर्थात् किस्ता रकम बढी पर्न जान्छ ।

बरु शैक्षिक कर्जामा उल्लेख्य सुधार देखिएको छ । मानिसहरू विदेशमा अध्ययनका लागि जाने क्रम ह्वात्तै बढेसँगै शैक्षिक कर्जाका ग्राफ उकालो लागेको हो । यो कर्जा गत साल जेठसम्म ३० अर्ब हाराहारी यस्तो ऋण प्रवाह भएकोमा यो साल ५३ अर्ब ७३ करोड हाराहारी पुगेको छ ।

यस्तै, गरिब एवम् विपन्नहरूमा वित्तीय पहुँच पुर्‍याउने खालको कर्जामा भने सङ्कुचन आएको छ । गत साल जेठसम्म ३ खर्ब ३९ अर्ब हाराहारी रहेको विपन्न वर्ग कर्जा अहिले ३ खर्ब ८ अर्बमा झरेको छ ।

क्रेडिट कार्डको कर्जा बढेको छ । पोहोरसम्म ३ अर्ब ५४ करोडभन्दा कम रहेको यस्तो कर्जा यो साल ४ अर्ब ८५ करोड नाघेको छ । तर, पछिल्लो समय लघुवित्त संस्थाहरूको कर्जा नतिर्ने भन्दै विरोध प्रदर्शनहरू हुन थालेपछि विपन्न वर्गमा प्रवाह हुने कर्जा व्यापक मात्रामा घटेको देखिएको छ ।

यही कारण गत साल कुल कर्जाको ७.२ प्रतिशत हिस्सा विपन्न वर्गमा लगानी भएकोमा अहिले यस्तो अनुपात ६.४ प्रतिशतमा झरेको छ । गत सालको तुलनामा ८ प्रतिशत यस्तो कर्जा घटाइएको छ ।

अहिलको अवस्थामा महँगो ब्याजदरमा रहेर बैंकहरुले कर्जाको पुनः संरचना गरेका छन् । यसको मतलब त्यति नै ऋणको ब्याज तिर्न अव ऋणीले पहिलेभन्दा निकै बढी पैसा बुझाउनु पर्ने भएको छ । त्यसमाथि यो साल ब्याजदर निकै उच्च भएको बेलामा कर्जाको पुनः संरचना गर्नु परेको छ ।

बैंक कर्जाको उपयोगिता क्रेडिट कार्ड र विदेशको अध्ययनमा बढ्दा विपन्न वर्गमा घट्नुले वित्तीय प्रणालीले आय असमानताको खाडल बढाउन कसरी योगदान गरिरहेको छ भन्ने देखाउँछ ।

निजी आवासीय घर कर्जा र आयात कर्जाको आकार बढेको छ । तर ओभर ड्राफ्ट, साना उद्यम, चालू पुँजी, विपन्न वर्ग एवम् सवारी साधन तथा सेयर खरिद गर्ने कर्जाको आकार साँघुरिएको देखिन्छ ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु