गृहपृष्ठ चितवनमा असार १५ मनाउँदै ओली : मेशिनबाट रोप्ने, पार्टीको झण्डा नबोक्ने
चितवनमा असार १५ मनाउँदै ओली : मेशिनबाट रोप्ने, पार्टीको झण्डा नबोक्ने
फाइल तस्बीर
असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।
बिहिबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।
ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ ।
चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिए ।
प्रकाशित समय : ०९:५५ बजे




















