मोरङबाट ३ दिनमा लिए ४७१ जनाले नागरिकता
वि.सं.२०८० असार १३ बुधवार १८:३०
shares

कोशी प्रदेशको मोरङ जिल्लाबाट ३ दिनमा ४७१ जनाले नागरिकता दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले न्युज कारोबारलाई दिएको जानकारी अनुसार सोमबार, मंगरबार र बुधबार गरेर ४७१ जनाले नागरिकता लिएका हुन ।
आज (बुधबार) मात्र जिल्ला प्रशासन कार्यालय मोरङबाट ८२ जनाले नागरिकता पाएको प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताएका छन् । पोखरेलका अनुसार इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ३७ जनाले र इलाका प्रशासन कार्यालय रंगेलीबाट २८ जनाले नागरिकता पाएका हुन् ।
कार्यालयले न्युज कारोबारलाई दिएको जानकारी अनुसार सोमबार १२८ जनालाई, मंगलबार १९५ जनालाई र बुधबार १४८ नागरितका वितरण गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अनुसार सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि नागरिकता वितरण सुरु भएको छ ।
नागरिकता वितरण सुुरु भएसँगै अहिले मोरङमा बिहान देखि लाईन लागेर नागरिकता लिनेको भिड रहेको छ । प्रशासन कार्यालयका पोखरेलका अनुसार प्रशाशन कार्यालयले नागरिकता विवरण गर्नेका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । कार्यालयको कोठा नम्बर १६ बाट नागरिकता वितरणको काम भैरहेको छ ।
‘हामीले नागरिकता वितरण गर्न विशेष व्यवस्था गरेका छौँ’, पोखरेलले भने, ‘कागजपत्र चेकजाच गर्ने ३ जना र वितरण र अन्य कामहरु गर्ने ३ जना कर्मचारी खटाएका छौँ ।’
नेपाल नागरिकता ऐन–२०६३ अनुसार गृह मन्त्रालयको तथ्यांकअनुसार एक लाख ९० हजार सात सय २६ जनाले जन्मसिद्ध आधारमा नागरिकता लिएका थिए ।
तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकता पाएका थिएनन् । जन्मसिद्ध नागरिकता लिएका नागरिकका झन्डै पाँच लाख सन्तान रहेको अनुमान रहेको छ ।

























