global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चौंरीदेउराली गाउँपालिका गाउँपालिका : ‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’

चौंरीदेउराली गाउँपालिका गाउँपालिका : ‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’

चौंरीदेउराली गाउँपालिका गाउँपालिका : ‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्दै पालिकालाई ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ बनाउने नीतिलाई अगाडि सारेको छ ।

गाउँपालिका अध्यक्ष रेणुका चौलागाँई आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गर्दै ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंँरीदेउराली’ भन्ने लक्ष्य प्राप्तिका लागि सरकारी शैक्षिक संस्थाबाट प्रदान गर्ने शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउन प्राज्ञिक संस्थासँग सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाले शैक्षिक प्रणालीमा रुपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थपान, शैक्षिक पात्रो व्यवस्थापन, अद्याविधक स्रोत व्यवस्थापन, विद्यालय–अभिभावकबीचको सञ्चार व्यवस्थापनलाई जोड दिने भएको छ ।

यसका लागि अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई एम आइएस) लागू गर्ने नीति अवलम्बन गरिने अध्यक्ष चौलागाँइले बताए । लिएको नीतिलाई प्रभावकारी बनाउनका लागि पालिकाले ‘एक विद्यालय, एक उत्पादन’ कार्यक्रमको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने भएको छ ।

गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थपरीक्षण गर्ने कार्यलाई व्यवस्थित गरिने र सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ नीति लिएको छ । त्यस्तै तीन वर्षभित्र गाउँपालिकाभित्रका विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्न पहल गरिने र सबै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा पढने विद्यार्थीलाई आगामी शैक्षिक गन्तव्यको लागि परामर्श सेवा जस्ता जीवनवृति कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

शिक्षाको क्षेत्रमा सुधारसँगै कृषिमा निर्भर रहेको चौरीदेउराली गाउँपालिकाका किसानलाई व्यवसायीमुखी बनाउनका लागि फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गर्ने र ती स्थानमा व्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण गरिने नीति लिएको छ ।

त्यससँगै रैथाने बालीको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने भएको छ । पालिकाले गाउँपालिकाको विकास निर्माणको कामलाई व्यवस्थित गर्नका लागि समयमा नै योजना सम्पन्न गर्नेतर्फ प्राथमिकताका साथ काम गर्ने भएको छ । जसको लागि पुँजीगत खर्चको गुणस्तर बढाउन सार्वजानिक खरिदसम्बन्धी कानून बमोजिम ‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’ को नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ ।

पालिकाबाट प्रवाह हुने सेवालाई व्यवस्थित बनाउनका लािग कागजविहीन प्रणाली बनाउन विद्युतीय प्रणालीमा जोड दिइने भएको छ । अगाडि सारिएको नीतिलाई जनमैत्री बनाउन नागरिकलाई सहजीकरण गर्न सहायता कक्ष राखी सेवा दिने व्यवस्थामा जोड दिएको छ । पुराना सल्लाका रुख विस्थापित गरी नयाँ प्रजातीका बोटबिरुवा लगाउन प्रोत्साहन गरिन नीतिलाई पालिकाले अगाडि सारिएको छ ।

वृक्षरोपण कार्यलाई निरन्तरता दिई प्रत्येक वर्ष गाउँपालिकाको जनसङ्ख्या बराबरको वृक्षरोपण गर्ने अभियानको सुरुवात गरी ‘जन्मदिन र अन्य समारोहमा वृक्षरोपण’ गर्न प्रोत्साहित गरिने भएको छ । प्रत्येक वडाले सामुदायिक वन, निजी वन, कवुलियती वन, संरक्षित वनलगायत सबै वन समूहलाई सक्रिय पर्यावरणीय एवं जैविक विविधतामा सन्तुलन कायम राख्न पहल गरिने जनाएको छ ।

‘हामीले तिरेको कर हाम्रै लागि, करदाताको सहभागिता विकास र समृद्धिको लागि’ भन्ने नाराका साथ गाउँबासीलाई कर तिर्नु बोझ नभइ आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभूत गरी करको दायरा विस्तार गर्ने नीति पालिकाले लिएको छ ।

युवा उद्यमशीलता विकासका कार्यक्रममार्फत युवालाई ‘विदेश होइन ब्यापार’ भन्ने भावना जागृत तुल्याई युवा लक्षित कार्यक्रम ल्याइने, उनीहरुको लागि पशु, कृषि, साना उद्योगमा राहतका कार्यक्रम सञ्चालन गरिने, विपन्न, गरिब र सुकुमबासी परिवारका युवालाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्विङ तथा इलेक्ट्रिसियन, ब्युटिपार्लर, होटल म्यानेजमेन्ट, ड्राइभिङ, व्यावसायिक पशुपालन तथा तरकारी खेती जस्ता तालिम प्रदान गरी गरिबी न्यूनीकरण र जीविकोपार्जनमा सहजीकरण गरिने र ‘अध्यक्षसँग गृहिणी महिला’ कार्यक्रम सञ्चालन गरी पिछडिएका महिलाको पहुँचलाई सुनिश्चितता गर्न आवश्यक व्यवस्था मिलाइने लगायतका कार्यक्रम अगाडि सारिएको अध्यक्ष चौलागार्इंले बताउनुभयो ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु