सङ्खुवासभामा विस्थापित १६ परिवारलाई रातह
वि.सं.२०८० असार ८ शुक्रवार १०:३२
shares

सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले बताए ।
परिवारका सदस्य ५ जनाभन्दा कम भएको विस्थापित परिवारलाई १५ हजार र ५ जनाभन्दा बढी भएकालाई २० हजार वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा ४ परिवारलाई ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा ९ परिवारलाई १ लाख ४० हजार र सभापोखरी गाउँपालिकामा २ परिवारलाई ३० हजार वितरण गरिएको छ ।
विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका १ जना, अमर कन्ट्रक्सनका १ जना र सभापोखरी गाउँपालिकामा २ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण जिल्लाका ८ हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

























