बजेटको विवादमाथि सत्ता गठबन्धनको सहमति
वि.सं.२०८० जेठ ३१ बुधवार ०७:०९
shares

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार घटबढ नहुनेगरी संशोधन गर्ने सत्तारुढ दलका शीर्ष नेताहरूबीच समझदारी भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच केही आयोजनाहरू मात्र परिवर्तन गर्नेगरी समझदारी बनेको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाइरहेका बेला प्रधानमन्त्री बजेटमा करेक्सन गरेर जान तयार रहेको बताएका थिए।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार शीर्ष नेताहरूको उक्त सहमतिबारे मन्त्रालयमा आधिकारिक जानकारी भने गराइएको छैन।
बजेटलाई लिएर सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि सहमति खोज्नेगरी शीर्ष नेताहरू बैठकमा जुटेका थिए।एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बजेट नसच्याए सरकार ढल्ने सार्वजनिक चेतावनी नै दिएका थिए।
सोमबार बिहान अन्य ८ जना नेताहरुलाई लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए।

























