गृहपृष्ठ एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो
एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो
एनसेलको सञ्चालक कम्पनी आजियटाले हालेको मुद्दामा नेपाल सरकारको जित भएको छ । ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष दायर गरेको मुद्दा नेपाल सरकारले जितेको हो ।
करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा नेपाल सरकारविरुद्ध एनसेलले दाबी गरेका मूलभूत मुद्दा खारेज भई नेपालले मुद्दा जित्न सफल भएको हो ।
आजियटा ग्रुपले २०७६ वैशाखमा विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा मुद्दा दायर गरेको थियो ।
आजियटाले नेपालमा द्विपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको, कर लगाएको र त्यसको न्याय निरूपण गर्दै करिब ५० करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गरेको थियो ।
यसमा नेपाल सरकारको पक्षमा फैसला आएको कानुन मन्त्रालयले जनाएको छ ।
अब ५० करोड अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब ६६ अर्ब रुपैयाँ) नेपालले फिर्तासमेत गर्नुपर्ने छैन ।
प्रकाशित समय : ०८:०३ बजे


















