गृहपृष्ठ ‘अखण्ड भारत’बारे भारतीय जवाफ : नेपाल र बंगलादेशले कुरा बुझिसके, अब विवाद गर्दैनन्
‘अखण्ड भारत’बारे भारतीय जवाफ : नेपाल र बंगलादेशले कुरा बुझिसके, अब विवाद गर्दैनन्
गत जेठ १४ गते प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपाल र बंगलादेशले विवाद नगर्ने दाबी भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन्।
नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा जयशंकरले यस्तो बताएका हुन्।
विशेष ब्रिफिङका क्रममा पत्रकारहरुले ‘अखण्ड भारत’ नक्सालाई लिएर नेपाल र बंगलादेशमा विभिन्न प्रतिक्रिया आइरहेको भन्दै यसबारेमा औपचारिक धारणा माग गरेका थिए ।
‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन् । उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ । यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, उनले भने, ‘हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’
उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’
त्यसपछि जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे।
‘उक्त नक्सालाई लिएर हाम्रा छिमेकी नेपाल र बंगलादेशले कुरा बुझिसकेका छन्। अब यसमा कुनै समस्या छैन। हाम्रा मित्र देशले कुरा बुझ्ने छन्। केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ’, उनले थप ब्याख्यासहित भने।
जेठ १४ मा उद्घाटन गरिएको नयाँ भारतीय संसद्मा राखिएको नक्सामा नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तासम्मका भूगोल राखिएको छ। जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ।
प्रकाशित समय : ०६:१५ बजे


















