गृहपृष्ठ ८ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ
८ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ
करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो । पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरले जानकारी दिएको छ ।
सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक–पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएको प्रहरीको भनाइ छ । त्यस्तै २०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको पनि पीडितले उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवारको दाबेदार भए पनि कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट दिएको थियो ।
प्रकाशित समय : ०६:३६ बजे


















