nmb bank

गृहपृष्ठ एमसीसीबारे निर्णय गर्न बसेको नेकपा सचिवालय बैठक विनानिष्कर्ष सकियो

एमसीसीबारे निर्णय गर्न बसेको नेकपा सचिवालय बैठक विनानिष्कर्ष सकियो

एमसीसीबारे निर्णय गर्न बसेको नेकपा सचिवालय बैठक विनानिष्कर्ष सकियो

एमसीसीका विषयमा निर्णय गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहानदेखि बसेको बैठकमा एमसीसीबारे तीव्र विवाद भएको थियो ।

बहुसंख्यक सदस्यले एमसीसीका प्रावधान सच्चाएर मात्र अगाडि बढ्नुपर्ने मत राखेका थिए । केहीले भने अहिलेकै अवस्थामा पनि एमसीसी अगाडि बढाउन सकिने धारणा राखे ।

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्री ओलीले सदनमा दिएकै जवाफ दोहोर्‍याएका थिए । तत्कालका लागि सदनमा उठेका प्रश्नमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि ओलीले सदनमा दिएकै जवाफ दिने सहमति सचिवालय बैठकमा भएको छ ।

‘अध्यक्षले आजको बैठकमा पनि सदनमै प्रस्तुत भएझैँ गरेर जवाफ दिनुभयो । अन्य नेताहरुले त्यसको प्रतिवाद गरियो । उहाँले पेलेर जान खोजेजस्तो हामीलाई लागेको छ । पार्टी निर्णय नभएसम्म एमसीसी पास हुँदैन,’ उनले भने ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसीका विषयमा छिट्टै पार्टी बैठक बसेर टुंगोमा पुगिने जानकारी दिए । उनका अनुसार आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सदनबाट टुंगो नलागे पनि विभिन्न विकास निर्माणका काम सरकार आफैँले गर्ने प्रष्टीकरण दिएको श्रेष्ठको भनाइ छ ।

एमसिसीको विषयमा टुंगो लगाउन अब फेरि अध्यक्षद्वयको परामर्शमा छिट्टै सचिवालय बैठक बस्ने श्रेष्ठको जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत बोलाइएको थियो ।

नेकपा केन्द्रीय समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा ज्ञवाली र रावल सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले पनि एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली एमसीसी तत्काल पारित गर्नुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका बहुसंख्यक नेताहरु एमसीसीका प्रावधान परिवर्तन गरेरमात्र लागू गर्नूपर्ने पक्षमा उभिएका छन् ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु