आगामी वर्ष तिर्नैपर्ने सरकारी ऋण २ खर्बमाथि
वि.सं.२०८० वैशाख २३ शनिवार ०७:१६
shares

सार्वजनिक ऋण भुक्तानीको दायित्व बढ्दै जाँदा सरकारी वित्त व्यवस्थापनमा थप दबाव पर्दै गएको छ । सार्वजनिक ऋण सावाँ तथा ब्याज भुक्तानीको अनिवार्य दायित्व ठूलो दरमा बढ्ने भएपछि आगामी आर्थिक वर्षको बजेट निर्माणमै सकस परेको छ ।
चालु आर्थिक वर्षको चैतसम्म मात्रै सरकारले आन्तरिक ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि १ खर्ब २४ अर्बभन्दा बढी खर्च गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
अझै चालु आर्थिक वर्षमा तिर्नुपर्ने आन्तरिक तथा वाह्य ऋणको सावाँ तथा ब्याज भुक्तानी दायित्व बाँकी रहेकोले उक्त लागत करिब १ खर्ब ५० अर्ब पुग्ने अवस्था छ ।
सरकारलाई स्रोत व्यवस्थापनमा दबाब बढ्दै गएर चालु आयोजनालाई नै स्रोत सुनिश्चित गर्न समस्या परिरहँदा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीको अनिवार्य दायित्वले थप दबाव बढाउँदै लगेको छ ।
चालु आर्थिक वर्षमा सरकारले २१ अर्ब ७० करोड बाह्य ऋण भुक्तानी गर्दा चालु आर्थिक वर्षमा आन्तरिक तथा बाह्य ऋणको साँवा १ खर्ब २४ अर्ब २२ करोड २९ लाख रुपैयाँ भुक्तानी भइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
वैशाख लागेपछि मात्रै ४० अर्ब ऋणको सावाँ भुक्तानी भइसकेको र अब आगामी असारमा ७ अर्ब रुपैयाँको विकास ऋणपत्रको अवधि पूरा भएर साँवा भुक्तानी गर्नुपर्ने अवस्था रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख समेत रहेका सहसचिव भूमिराम शर्मा बताउँछन् ।
यस्तै चालु आर्थिक वर्षको लागि छुट्याइएको स्रोतले ब्याज भुक्तानी गरेर बचत भएमा ट्रेजरी बिलको केही सावाँ भुक्तानी हुनसक्ने उनले बताए ।
यस्तै चालु आर्थिक वर्षमा अझै करिब १२ अर्बभन्दा बढी ब्याज भुक्तानी गर्नुपर्ने उनले बताए । ब्याजदरमा भएको वृद्धिले गर्दा आन्तरिक सार्वजनिक ऋणको लागत बढ्न गएर सार्वजनिक ऋणको ब्याज भुक्तानी खर्चमा वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख शर्मा बताउँछन् । यसमा डलरको अधिमूल्यनले पनि प्रभाव पारेको छ ।























