गृहपृष्ठ को हुन् कांग्रेसबाट थपिएका तीन मन्त्री ?
को हुन् कांग्रेसबाट थपिएका तीन मन्त्री ?
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार नेपाली कांग्रेसबाट थप तीन जना मन्त्री थपेका छन् । कांग्रेसबाट धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन्।
गुरूङ, बस्नेत र लिम्बू थपिएपछि वर्तमान मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्रीको संख्या आठ पुगेको छ । बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने गुरूङ र लिम्बू नेता शेखर कोइराला पक्षका नेता हुन् ।
धनराज गुरुङ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री
स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरूङ हाल पार्टीको केन्द्रीय उपसभापति छन् । उनी मन्त्री बनेपछि कांग्रेसका दुवै उपसभापति मन्त्री बनेका छन् । अर्का उपसभापति पूर्णबहादुर खड्का यसअघि नै उपप्रधान तथा रक्षामन्त्री भइसकेका छन् ।
यसअघि न्याय परिषद्को बैठक बसाउन प्रधानमन्त्री दाहालले खड्कालाई नै कानुन मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए । तर कांग्रेसले नै फेरि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा उपसभापति गुरुङलाई पठाएको छ ।
तेस्रो पटक सांसद बनेका उपसभापति गुरुङ पहिलो पटक मन्त्री बनेका छन् । २०६४ र २०७० मा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्य बनेका गुरूङ यसपटक स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
राजनीतिक आन्दोलनमा पटक–पटक जेल परेका गुरुङ कांग्रेसमा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका नेता हुन् । उनी २०४० सालमा नेपाल विद्यार्थी संघ स्याङ्जाको सचिव भएका थिए । २०४८ मा उनी केन्द्रीय उपसभापति भए । २०५३ मा नेविसंघको केन्द्रीय अध्यक्ष बनेका गुरुङ २०५४ सालमा तरुण दलको केन्द्रीय महामन्त्री भए । तरुण दलपछि पार्टीको राजनीतिमा सक्रिय भएका गुरुङ १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका हुन् ।
समाजशास्त्रमा स्नात्तकोत्तर उत्तीर्ण गुरूङ विगतमा संविधानसभा सदस्य हुँदा रातो पासपोर्ट लिएको भन्दै विवादमा परेका थिए ।
मोहनबहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्यामन्त्री
सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्न चाहनेको लर्को थियो । तर, बस्नेतले नेतृत्वलाई यसरी रिझाए कि लामो समयसम्म छलफल, दबाब र पार्टीभित्र अन्तरसंघर्ष हुँदा पनि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै जिम्मेवारी पाएका छन् । विगतमा नेता खुमबहादुर खड्कासँग निकट रहेका बस्नेत हाल सभापति देउवाका विश्वास पात्र हुन् । ०५८ सालमै स्वास्थ्य राज्यमन्त्री भइसकेका बस्नेत ०७४ मा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
पार्टीमा ०५३ सालदेखि हालसम्म निरन्तर केन्द्रीय कार्यसमितिमा सदस्य रहेका बस्नेत ०४६ सालदेखि नै निरन्तर कांग्रेसबाट चुनाव लड्दै आएका नेता हुन् । उनी ०५६ र ०७० को निर्वाचनमा भने सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए । यसपटक भने माओवादी केन्द्रसँग गठबन्धन हुँदा उनी विगतदेखि चुनाव लड्दै आएको क्षेत्र छोडेर अर्को क्षेत्रबाट चुनाव लड्न बाध्य भए ।
पार्टीमा नेविसंघको राजनीतिबाटै प्रवेश भएका बस्नेत ०५३ देखि ०७२ सालसम्म गरी चार कार्यकाल सिन्धुपाल्चोकको जिल्ला सभापति भएर काम गरेका थिए ।
डिगबहादुर लिम्बू, युवा तथा खेलकूदमन्त्री
मोरङ–१ बाट निर्वाचित सांसद डिगबहादुर लिम्बू युवा तथा खेलकूदमन्त्री बनेका छन् । कुनै बेला मोरङमा कोइरालाविरुद्ध लागेर कांग्रेस राजनीतिमा उदाएका लिम्बू अहिले कोइरालाकै प्रिय पात्रकारुपमा मन्त्री बनेका छन् । हाल मन्त्री बनेकामध्ये लिम्बू सबैभन्दा लो–प्रोफाइलका नेतासमेत हुन् । दोस्रो पटक सांसद बनेका लिम्बू पहिलो पटक मन्त्री बनेका छन् ।
०६२ मा कांग्रेस प्रजातान्त्रिकको मोरङ जिल्ला सभापति भएका लिम्बू कांग्रेस एकीकरण पछि फेरि जिल्ला सभापति भए । त्यसबेला देउवाको समर्थनमा जिल्ला सभापति बनेका लिम्बू अहिले कोइराला समूहबाट जिल्ला सभापति बनेका छन् । नेता शेखर कोइरालाले आफ्नो पक्षबाट दुई मन्त्री छान्दा लिम्बूलाई रोजेका छन् ।
शिक्षण पेसा छोडेर राजनीतिमा लागेका लिम्बू ०४९ मा गाविस अध्यक्ष उठेका थिए, त्यसबेला पराजित भए । त्यसयताका सबैजसो चुनावमा उनी कांग्रेसबाट उम्मेदवार बनेका छन् । तर, ०७० मा मात्रै उनी मोरङ–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
पेलेरै अघि बढे देउवा
पार्टीभित्र भागबन्डा मिलाउन नसक्दा लामो समयसम्म मन्त्रीको नाम नदिएका देउवाले अन्ततः पार्टीभित्रका प्रतिस्पर्धीलाई पेलेरै अघि बढेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसबाट तीन पटक गरी ८ जना मन्त्री बनेका छन् । तर तीमध्ये ६ जना सभापति देउवाकै विश्वासपात्रहरु छन् ।
शेखर(गगन समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् । पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई सभापति देउवाले मन्त्री चयनमा २० प्रतिशतमा सीमित गरिदिएका छन् ।
पार्टीको संसदीय दलको निर्वाचनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले एक जनालाई पनि मन्त्री बनाउन सकेनन् । थापाले सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे वा प्रदीप पौडेल मध्येबाट एक जनालाई मन्त्री बनाउनुपर्ने अडान लिएका थिए । त्यहीकारण १७ चैतमा आठ वटै मन्त्रीहरुको सपथ हुन लागेकोमा चार मन्त्रीले मात्रै सपथ लिएका थिए ।
त्यसबेला महामन्त्री थापाकै दबाबमा आठ मन्त्रीमध्ये तीन मन्त्री नपाए मन्त्रीको नाम नपठाउने भन्दै अडान लिएका नेता कोइरालाले एक महिना ढिला गरेर पनि आफ्नो समूहबाट दुई जनालाई मात्रै मन्त्री बनाउन सकेका छन् ।
प्रकाशित समय : ०६:५० बजे



















