global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन आग्रह

निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन आग्रह

निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन आग्रह

यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थिति तथा निर्वाचन आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा गृह, रक्षा र अर्थ मन्त्रालयका सचिवहरू, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत लगायतको सहभागितामा भएको बैठकले उक्त आग्रह गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन हुने तनहुँ, चितवन र बाराका सम्बन्धित क्षेत्रमा मतदानका दिन सार्वजनिक बिदा दिन तथा मतदानस्थल र केन्द्र रहेका सामुदायिक विद्यालयमा यही वैशाख ८ गतेदेखि तीन दिन सार्वजनिक बिदाको व्यवस्था मिलाउन नेपाल सरकारको मुख्यसचिवमार्फत आग्रह गर्ने पनि निर्णय भएको छ ।

समितिले सम्बन्धित निर्वाचन क्षेत्रका वडा कार्यालय, स्वास्थ्य चौकी एवं भौतिक संरचना र परिसर प्रयोग गर्ने सम्बन्धमा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत र निर्वाचनका लागि उपयुक्त सुरक्षा व्यवस्था गरी यातायात सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार, गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

बैठकले आचारसंहिता प्रतिकूलका कार्य हुन नदिन सूक्ष्म निगरानी तथा अनुगमन गर्न र निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय गरेको छ ।

मधेस प्रदेशको बारा क्षेत्र नं. २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं. १ र बागमती प्रदेशको चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु