गृहपृष्ठ ५२ जिल्लामा देखियो डेंगु
५२ जिल्लामा देखियो डेंगु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन ।
गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ ।
जाडो मौसममा पनि डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ ।
जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा ५०१ जना डेंगु संक्रमित केस देखिइसकेको छन् । जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु संक्रमण हुनुले अबका महिनामा संक्रमणको जोखिम बढ्ने आंकलन गरिएको छ ।
अघिल्ला बर्षको पुस यता तथ्यांक हेर्दा ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएका थिए ।
प्रकाशित समय : ०८:०४ बजे


















