काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी नामकरण खारेज गर्न अल्टिमेटम, ८२ सांसदलाई चेतावनी पत्र

10.25K
shares

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई नामाकरण खारेज गर्न अल्टिमेटम ज्ञापन पत्र बुझाएकाे छ ।

अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउँदै समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ । ‘बालबालिकाको एसईई परीक्षा चलिरहेका कारण हामीले एक साताभन्दा लामो समय आन्दोलन रोकेका थियौं,’ संयुक्त संघर्ष समितिका संयोजक डेकेन्द्रसिंह थेगिमले भने, ‘मुख्यमन्त्री र सभामुखलाई कोशी नाम खारेज गरेर पहिचानमा आधारित नामकरण गर्न ज्ञापन बुझाएका छौं । अब हाम्रो आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको छ ।’

मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन प्रदेशका मन्त्री तिलकुमार मेयाङ्बोले बुझेका छन् । उनले नामविहीन प्रदेशको दबाबले नामकरण गरिएको जवाफ आन्दोलनकारीलाई दिएका छन् । सभामुख बाबुराम गौतमले पनि नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताउँदै पुनः नामकरणको सम्भावना खुला नै रहेको बताएका छन् । ‘पुनः नामकरणको सम्भावना खुला नै छ,’ प्रदेश सभामा आन्दोलनकारीको ज्ञापन बुझ्दै उनले भने, ‘तर, सार्वभौम प्रदेशसभाले गर्ने प्रक्रियामा सरकारको या सभामुखको कुनै निर्णायक भूमिका हुन्न ।’

संयुक्त संघर्ष समितिले कोशीका पक्षमा मतदान गर्ने प्रदेशका ८२ जनै सांसदहरूलाई चेतावनी पत्रसमेत पठाउने भएको छ । संयुक्त संघर्ष समितिले २७ चैत पछिका शान्तिपूर्ण आन्दोलनको कार्यक्रमहरू तर्जुमा समेत गरेको छ । समितिका अनुसार अब स्थानीय तह, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था लगायतको लेटर प्याड र साइनबोर्डमा कोशी प्रदेश नाम नराख्नका लागि औपचारिक रूपमा पत्राचार गरिनेछ। आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाहरूलाई आन्दोलनमा सहयोग गर्न साथै प्रदेशका मुख्यमन्त्री, मन्त्री, कोशी प्रदेश नामका पक्षमा मत दिने ८२ जना सांसदहरू लगायतलाई आआफ्नो संस्थाको कार्यक्रमहरूमा नबोलाउनसमेत समितिले अनुरोध गरेको छ ।

फागुन १७ मा प्रदेशसभाको दुई तिहाइ मतबाट प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी आन्दोलन सुरू भएको थियो । कोशी नामकरणकाे विराेधमा गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

अल्टिमेटम पत्र