global ime bank Long Banner Ad

गृहपृष्ठ याक्खा छुम्मामा ‘राजनीतिक खेलोफड्को’, पदाधिकारीले नै पाएनन् सिफारिस

याक्खा छुम्मामा ‘राजनीतिक खेलोफड्को’, पदाधिकारीले नै पाएनन् सिफारिस

याक्खा छुम्मामा ‘राजनीतिक खेलोफड्को’, पदाधिकारीले नै पाएनन् सिफारिस डाेकेनी तयार पार्दै याक्खा महिलाहरू । (तस्बिर श्राेत : सामाजिक सञ्जाल)

देशको समृद्धिको लागि प्राकृतिक सौन्दर्य र भौतिक पूर्वाधार मात्र होइन, त्यहाँका सांस्कृतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ । संस्कृतिले सामाजिक सद्भाव र भातृत्वको पनि प्रशस्त प्रवर्द्धन गरिरहेको हुन्छ । ती सांस्कृतिक सम्पदाहरुको जगेर्ना र पालना गरिरहेका हुन्छन् त्यहाँका जात-जातिहरुले । यसको अझ उन्नत र सामूहिक प्रयासका लागि सामाजिक संस्थाहरु खडा गरिएका हुन्छन् ।

यस्ता सामाजिक संस्थाहरु निस्वार्थ भावले सञ्चालन गरिँदो हो त, यसले सो समुदाय, समाज र मुलुककै निम्ति गर्व गर्नलायक भूमिका खेल्न सक्छ । तर, राजनीतिक दाउपेचसहित पद प्राप्तिको औपचारिकतामा मात्रै सीमित राखिँदा यस्ता संस्थाहरु कतिसम्म पंगु बन्छन् भन्ने उदाहरण बनेको छ, किरात याक्खा छुम्मा । छुम्मा ‘पंगु’ बनाइएको कुरा संस्थाका केही पदाधिकारी मात्र स्वीकार्दैनन् । बाँकी सदस्य-पदाधिकारी र आम याक्खा समुदाय भने छुम्माको पछिल्लो हालत देखेर विरह पोख्छन्, या त आक्रोश ओकल्छन् ।

संखुवासभा र धनकुटा जिल्लामा मुख्य बसोवास रहेको आदिवासी जनजाति याक्खाहरुको सामाजिक संस्था हो ‘किरात याक्खा छुम्मा’ । २०५१ साल पुस १६ गते स्थापना भएको छुम्मा छैटौं महाधिवेशनको सँघारमा छ ।

गुनासो र आरोपको चाङ

छुम्माको तत्कालीन मादीमूलखर्क प्रारम्भिक कार्य समिति अहिले मादी नगरपालिकाअन्तर्गत पर्छ । कुनै बेला जिल्लामा विश्व आदिवासी दिवस मनाउन सुरुआत गर्ने सो क्षेत्रमा १५ जना उपस्थित भएर गत चैत १३ गते नगर भेला सम्पन्न गरिए । ‘छुम्माको केन्द्रीय समिति भएको/नभएको कुनै अर्थ भएन । याक्खाहरुले छुम्मा नै बिर्सिसके । अनि कसरी भेला हुन्छन् र ! नभएको मानिसको समेत नाम राखेर समिति र प्रतिनिधि चयन गरियो,’ सोही भेलाबाट नगर सचिव चुनिएका र संस्थाको स्थापनाकालदेखि नै सक्रिय रहेका खगेन्द्र देवानले छुम्माको हालत बताए ।

देशका स्थानीय तहहरुमध्ये याक्खाहरुको सर्वाधिक सघन बसोवास रहेको धर्मदेवी नगरपालिकाको अवस्था पनि छिमेकी मादीभन्दा फरक रहेन । २५ जनाको उपस्थितिमा नगर भेला सम्पन्न भएको सदस्य मागमान जिमी बताउँछन् । ‘दुखका साथ भन्नुपर्छ, छुम्माप्रति याक्खाहरुको साह्रै वितृष्णा भएको पाएँ,’ उनले भने, ‘छुम्माको केन्द्रले भाषा, संस्कार, पहिचान र अधिकारको कामहरु धेरथोर गरेको भए अवस्था यस्तो पक्कै हुँदैनथ्यो । तर, गर्नैपर्ने र क्षमताले भ्याउने काममा समेत छुम्माका पदाधिकारीहरुले चासो दिनुभएन ।’ छुम्माले केन्द्रीय कार्यालय भवन बनाएको विषय स्वागतयोग्य भए पनि संस्थाको संगठन र विधानअनुसारको कार्य नगर्दा याक्खा समुदायप्रति बेइमानी भएको उनको भनाइ छ । याक्खा भाषा, संस्कार-संस्कृतिको खोजअनुसन्धानकर्तासमेत रहेका उनी भन्छन्, ‘बरु कुनै भाडाको कोठामा बसेर भए पनि याक्खा समुदायको पहिचान र अधिकारका लागि काम गर्न सकेको भए त्यो धेरै बेश हुन्थ्यो ।’

नेपाल आदिवासी याक्खा संघका संस्थापक अध्यक्ष रामजी कोङरेनले छुम्मा केही व्यक्तिहरुका लागि पदको बार्गेनिङ गर्ने थलोमा मात्र सीमित भएको आरोप लगाए । ‘अब छुम्मा साझा संस्था रहेन । पदका लागि मात्र लड्नेहरु पहिचानको सवालमा गम्भीर हुने कुरै भएन । त्यस्ता मानिसहरुले संस्था र समग्र याक्खाहरुलाई एक ढिक्का बनाएर लैजाने क्षमता नै राख्दैनन्,’ उनले भने । संस्कृतिको नाममा क्षणिक रमझममा मात्र नभुलेर समुदायको दीर्घकालीन हितका लागि संस्थाले काम गर्नुपर्ने उनको सुझाव छ । ‘नेपाल आदिवासी याक्खा संघ याक्खाको पहिचान र अधिकारको क्षेत्रमा क्रियाशील छ । भाषा पठनपाठनको क्षेत्रमा पनि काम गरिरहेका छौं । समानान्तर गतिविधि गरेर समुदायमा फाटो ल्याउने हाम्रो उद्देश्य होइन । हामी नीतिगत काममा केन्द्रित छौं । तर छुम्मा कहाँ छ ?’ उनले प्रश्न गरे ।

छुम्माले धरान-१६, जोरसखुवामा केन्द्रीय कार्यालय भवन निर्माण गरेको छ । विधानमै निर्देशित संस्थाको संगठनात्मक गतिविधि, याक्खा समुदायको हक-अधिकार काम शुन्य प्राय भएकोप्रति अनदेखा गर्दै छुम्माका कतिपय पदाधिकारीहरु भने ‘त्यतिका भवन बनाउन सकेको’ भन्दै आएका छन् । केन्द्रीय कार्यालय भवनको बखान गरिरहँदा संस्थाको संगठनात्मक स्थिति नाजुक रहेको बग्रेल्ती उदाहरण छन् । छुम्माको स्थानीय तहस्तरीय र भ्रातृ संगठनको अधिवेशनहरु महाधिवेशनको अघिल्लो दिनमात्र सकिएका छन् । जबकि यसका लागि पाँचौं महाधिवेशनमै इञ्चार्ज तोकिएको छुम्माकै पदाधिकारीहरु बताउँछन् । यसपटक भौगोलिक दुरीको हिसाबले नजिकै रहेको र याक्खाहरुको बसोवास रहेको दार्जिलिङ, सिक्किमलाई महाधिवेशनमा समेटिएको छैन ।

‘आफ्नो घर बिगारेर अरुको घर बनाउन तम्सिनेहरु’

एमालेनिकट लोकतान्त्रिक किरात याक्खा संघले गत फागुन २० गते प्रथम राष्ट्रिय सम्मेलन गर्‍यो । यससँगै बहस र गालीगलौजले सामाजिक सञ्जाल गर्मायो । ‘छुम्मा चाहिँ नवीकरणसम्म गर्न नसक्नेहरुको चाला’, ‘मूल संस्था मरणासन्न बनाएर भ्रातृ संगठन भित्र्याउनुको उद्देश्य के ?’ ‘एमाले याक्खा गुट, भाइ फुटे गँवार लुटे’, ‘छुम्मालाई अलपत्र पार्ने गँवारहरु’, ‘आफ्नो घर बिगारेर अरुको घर बनाउन तम्सिन्छ’, ‘छुम्माको कार्यालय पस्नुअघि पार्टी बिर्सेर पस्नु’- अनेकन् गाली वर्षिएका छन् । संघकै फेसबुक एकाउन्टबाट पनि ‘याक्खा कसैको पेवा होइन’, ‘पहिचान र अधिकारका लागि बडो सतर्क छौं’जस्ता एकै किसिमले अधिकांशलाई जवाफ फर्काइएको छ ।

छुम्मामा कुनै न कुनै जिम्मेवारी लिएकाहरु नै लोकतान्त्रिक किरात याक्खा संघमा पनि आवद्ध हुनु, उता मूल संस्था भने राजनीतिक खिचातानीले गुमनामजस्तै बनाइनुले पनि आफूहरु आक्रोशित भएको याक्खा युवाहरुको भनाइ छ । यसरी सामाजिक सञ्जालमा मात्र होइन औपचारिक कार्यक्रम र अनौपचारिक भेटघाटमा पनि राजनीतिक दाउपेचले संस्था सिकिस्त भएको चर्चा हुन्छ । तथापि महाधिवेशनका सँघारमा पनि राजनीतिक गुटबन्दी सुस्ताउनुको साटो अझ फस्टाएकोप्रति संस्थाका शुभेच्छुकहरु चिन्ता व्यक्त गर्छन् ।

पार्टीमा निरीह, छुम्मामा खेलोफड्को !

‘एमाले भर्सेस अन्य’को टकरावले समस्या भएको छुम्माका तटस्थ सदस्यहरु बताउँछन् । जातीय सामाजिक संस्थामा यस्तो ‘घृणित राजनीति’ गर्दा संस्था र यस्तो कार्यमा संलग्नहरु स्वयंलाई घाटा मात्र हुने ती तटस्थ सदस्यहरुको भनाइ छ । पटक-पटक माग गर्दा पनि नियमित बैठकसमेत नडाकिएको उनीहरुले सुनाए । ‘उहाँहरुले छुम्मामा राजनीति गरेर के पाउनुहुन्छ ? छरिएर रहेका सबै याक्खाहरुले उहाँहरुलाई भोट दिने कुरा पनि भएन । बरु पार्टीभित्र आफ्नो अवस्था र पकड मजबुत बनाउन लागिपरे उहाँहरुलाई फाइदा हुन्छ । उहाँहरुले मौका पाउँदा, टिकट पाउँदा याक्खा समुदायको सहयोग नहुन आखिर कुरै हुन्न,’ वर्तमान केन्द्रीय समितिका एक सदस्यले भने, ‘छुम्माभित्र राजनीति गरेर उहाँहरुले बेकारमा समय बर्बाद गरिराख्नु भएको छ ।’ छुम्मामा ‘तँ साढे कि म साँढे’ भनेर राजनीति गरे पनि आफ्नो पार्टीभित्र उनीहरुको अवस्था साँच्चै निरीह भएको उदाहरण दिँदै उनी भन्छन्, ‘पार्टीभित्रको अवस्था सुदृढ नभएकै कारण पाइसकेको पद पनि गुम्छ । यता आफैमा कमजोर छुम्माले यस विषयमा सशक्त ढंगले कुरा उठाउन पनि सक्ने भएन । यो हामी याक्खाहरुको लागि समेत दुखको कुरा हो ।’

ती केन्द्रीय सदस्यले छुम्माका पदाधिकारीहरुले याक्खा समुदायलाई भावानात्मक हिसाबले पटक्कै जोड्न नसकेको तर्क गरे । ‘छुम्माको केन्द्रीय पदाधिकारीले याक्खाहरुको उल्लेख्य जनसंख्या भएको क्षेत्रमा निर्वाचन लड्दा किन जमानत जफत हुन्छ ? राजनीति पनि भन्ने, छुम्मा पनि भन्ने । अनि नतिजा दुवैतिर ध्वस्त नभएर के हुन्छ ?’ उनको प्रश्न छ । कुनै पनि राजनीतिक दलमा आवद्ध भएका याक्खाहरुले पार्टीमै मात्र सक्रिय हुन उनको सुझाव छ । ‘छुम्मालाई सहयोग गर्न चाहने भए बाहिरैबाट पनि सकिहाल्नु हुन्छ नि । आफ्नो पार्टीभित्र निरीह भएकाहरुले छुम्मामा खेलोफड्को गर्नुको कुनै अर्थै देख्दिनँ म,’ ती सदस्यको धारणा छ । उनका अनुसार पार्टीबाट निर्देशित भएर छुम्मामा पार्टीनिकट मान्छे भित्र्याउनु र पार्टीको भ्रातृ संगठनको नाममा याक्खा समुदायलाई विभाजित गर्नु पार्टीप्रतिको खातिरदारी मात्र हो ।

छुम्माका पदाधिकारीलाई याक्खा संघको सिफारिस

संखुवासभाको तामाफोक पुर्ख्याैली घर भइ हाल भक्तपुर बसोवास रहेका कीर्तिमान जिमीले छुम्माका लागि भक्तपुरकै विरूवामा जग्गा प्रदान गरेका छन् । तर, सो जग्गा संस्थाले हालसम्म नामसारी गरेर लिन सकेको छैन । यस विषयमा औपचारिक/अनौपचारिक धेरै कुराकानी भए पनि संस्थाले अग्रसरता लिन नसकेको एक पदाधिकारीले बताए । ‘जग्गा नामसारी गर्न धेरैपटक कुरा चलाएँ । जग्गादाताले पनि धेरैपटक ताकेता गर्नुभयो । तर दिएकाे जग्गा लिन सकिएकाे छैन । योभन्दा लाजलाग्दो के होला र !’ ति पदाधिकारीले भने ।

वर्तमान केन्द्रीय समिति २०७३ सालमा सम्पन्न पाँचौ महाधिवेशनबाट निर्वाचित भएको हो । कोरोना महामारीका कारण समितिको पदावधि लम्बिएको थियो । यसबिचमा जम्मा दुईपटकमात्र औपचारिक बैठक हुन सकेको बताइन्छ । कुनै कार्यकालमा एक उपाध्यक्ष एकै बैठकमा पनि सहभागी नभएकाे छुम्माका एक पदाधिकारीले बताए । नेपाली कांग्रेसनिकट ती उपाध्यक्ष भने आफू टाढा भएकाे र सहभागी हुन नसक्ने अवस्थामा मात्र बैठक डाकिने गरेकाे गुनासाे सुनाउँथे ।

धरान सारिनुअघि छुम्माको केन्द्रीय कार्यालय ललितपुरमा थियो । सो कार्यालयको पाँच वर्षको भाडा करिब तीन लाख रुपैयाँसमेत छुम्माले भुक्तानी गरेको छैन । गत चैत १४ गते सम्पन्न बागमती प्रदेश भेलामा समेत यस विषयले चर्चा पाएको थियो । भेलामा उपत्यका समितिका अध्यक्ष नारद देवानले केन्द्रीय समितिले भाडा नतिरिदिँदा समस्या भइरहेको बताएका थिए । ‘उपत्यका समितिले पनि सोही घरमा कार्यालय राखेको छ । केन्द्रले पैसा तिरेको छैन रहेछ । हामीलाई अप्ठेरो परिरहेको छ,’ अध्यक्ष देवानको गुनासो थियो । भाडाको प्रसंग निस्किएपछि केन्द्रीय अध्यक्ष लिलबहादुर रोगुले महाधिवेशनअघि नै तिर्ने आश्वासन दिएका थिए ।

अझ रोचक त के छ भने, छुम्माकै पदाधिकारीले समेत नेपाल आदिवासी याक्खा संघबाट सिफारिस लिनु परेको छ । निर्वाचनमा उम्मेदवारी दिने प्रयोजनका लागि छुम्माका ति पदाधिकारीलाई ‘अल्पसंख्यक जाति’को सिफारिस गरेको संघका एक सदस्यले बताए । ‘छुम्मा निस्क्रिय भएर वा आपसमा कुरा नमिलेर त होला नि हामीकहाँ सिफारिस माग्नु परेको । याक्खा नै हो उहाँ पनि । हामीले सिफारिस पत्र बनाइदियौं,’ उनले भने ।

छुम्माको विकल्प खोजिएको हो ?

पछिल्लो समय छुम्माप्रति वितृष्णा बढिरहेको उदाहरणमध्ये थरगत संस्था/संगठन बढ्नु पनि एक भएको बताइन्छ । याक्खाभित्रैबाट अलग पहिचानको दाबी गरिरहेको देवान समाज, भाषागत रुपमा फरक पहिचानका लागि प्रयासरत मारेके याक्खा भाषा समूह लगायतलाई यस्तो उदाहरणको रुपमा लिन सकिने नेपाल आदिवासी याक्खा संघका संस्थापक अध्यक्ष रामजी कोङरेन बताउँछन् । ‘छुम्माले अभिभावकत्व गर्न सकेन । याक्खाहरुले स्वभाविक रुपमा विकल्प खोजे,’ उनको भनाइ छ ।

के भन्छन् पूर्वअध्यक्षहरु ?

संस्थापक एवं प्रथम महाधिवेशनबाट निर्वाचित भई दुई कार्यकाल काम गरेका पूर्वअध्यक्ष लिलामणि जिमीले छुम्माको अवस्था टिठलाग्दो बनेको बताए । संस्थामा पछिल्लो समय ‘राजनीतिक घुसेको’ उनको स्वीकारोक्ति छ । दोस्रो र तेस्रो महाधिवेशनबाट चुनिएर दुई कार्यकाल नेतृत्व सम्हालेका पूर्वअध्यक्ष दुर्गामणि देवान पनि छुम्माले साख गुमाउँदै गएको बताउँछन् । भन्छन्, ‘समस्त याक्खाहरुको भावानामाथि खेलवाड भइरहेको छ । पछिल्लो समितिले कुनै काम गर्न सकेन । अबको कार्यसमितिले सुधार गरोस्,’ उनले भने, ‘जिम्मेवारी लिएकाहरुले छुम्मालाई अगाडि राखेर काम गर्नुपर्छ, पद ओगट्ने मात्र होइन ।’

पाँचौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका भुपाल जिमीले संस्था पूरै अस्तव्यस्त भएको बताए । उनका अनुसार पाँचौं महाधिवेनबाट पारित भएका कुनै प्रस्ताव र कार्ययोजनाहरु वर्तमान समितिले कार्यान्वयन गरेको छैन । केन्द्रीय कार्यालय भवन बनाउनसमेत वर्तमान समितिको कुनै योगदान नरहेको उनको भनाइ छ । ‘पूर्वाधारमा केही थपथापबाहेक अहिलेको समितिले केही गरेको होइन । योगदान गर्नेहरुको कुनै कदरसमेत छैन,’ उनले असन्तुष्टि पोखे ।

वर्तमान अध्यक्ष लिलबहादुर रोगुले पनि अपेक्षाकृत काम गर्न नसकेको स्वीकारे । छुम्माका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुमा भएको सांस्कृतिक, राजनीतिक प्रवृत्तिका कारणले स्वयं आफूले आशा गरेअनुसार काम नभएको अध्यक्ष रोगुको भनाइ छ । एक कार्यक्रममा छुम्माकै विषयमा प्रसंग निस्कँदा अध्यक्ष रोगुले ‘तीतो यथार्थ छ, कुनै दिन पोखुँला’ भनेका थिए । यस विषयमा प्रतिक्रिया लिँदा उनले यस्ता कुरा पनि प्रतिवेदनमा आफूले समेटेको जवाफ दिए । ‘यी, यस्ता सबै कुरा मैले प्रतिवेदनमा समावेश गरेको छु । सबै काम अध्यक्षले मात्रै गर्ने होइन । टिमले समन्वय र सहकार्यबाटै संस्थाको उद्देश्य प्राप्ति हुने हो । तर त्यस्तो हुन सकेन । तथापि पहिलेकाे तुलनामा धेरै कामहरू भएका छन्,’ उनले भने ।

सकारात्मक छ सल्लाह-सुझाव

अनेक असन्तुष्टि र आरोप/प्रत्यारोपका बिचमा पनि छुम्माको भविश्यबारे सकारात्मक धारणा पनि प्रशस्तै छन् । बिर्सनलायक विगतबाट सिकेर अगाडि बढ्नुपर्ने धेरैको सुझाव छ । ‘याक्खाहरुको लागि काम गर्ने याक्खाहरुले नै हो । सुधारेर, सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन,’ पूर्वअध्यक्ष देवान भन्छन् । केही आलोचना र आरोप लाग्दैमा ‘तिमीहरु नै गर न त, हामी पनि हेर्छौं’ भन्ने किसिमले सोचेर पन्छिनु नहुने उनको सुझाव छ । ‘छुम्मामा जिम्मेवारी लिन चाहने आकांक्षीहरुले आम गुनासो र अपेक्षाबारे जानकार नै होलान् । महाधिवेशनको मुखैमा दिएको यस्ता सल्लाह र सुझावबारे उहाँहरु गम्भीर बन्नुहोला र सुधार गर्दै काम गर्नुहोला भन्ने लागेको छ,’ पूर्वअध्यक्ष देवानले आशा र विश्वास व्यक्त गरे ।

अर्का पूर्वअध्यक्ष लिलामणि जिमीले पनि सकारात्मक भएर आगामी यात्रा तय गनुपर्ने धारणा राखे । ‘सर्वप्रथम त संस्थामा आउँदा पार्टीको कोट बाहिरै फुकाल्नुपर्छ । भए/देखिएका कमीकमजोरीको विषयमा स्वच्छ संवाद र छलफल आवश्यक छ । जो जहाँ छ, उसले त्यहीँबाट योगदान दिने हो । पदको लागि हत्ते हालिरहनु आवश्यक छैन, जिम्मेवारीमा उपयुक्त मानिस चयन गरे पुग्छ । यति मात्र भइदियो भने जुनसुकै संस्था पनि संस्थाजस्तो भएर उद्देश्यअनुरुप अगाडि बढ्छ,’ उनको सुझाव छ ।

छुम्माको छैटौं महाधिवेशन सुनसरीको धरान-१६, जोरसखुवास्थित केन्द्रीय कार्यालयमा आज सुरु हुँदैछ । नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन भोलि सम्पन्न हुने उपमहासचिव सोनाम याक्खाले बताए । उनका अनुसार महाधिवेशनमा ९ जिल्ला र उपत्यकाबाट १७१ प्रतिनिधि सहभागी हुनेछन् ।

प्रकाशित समय : ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु