गृहपृष्ठ सभामुखको अधिकार कटौती गर्न सत्तापक्षको प्रस्ताव
सभामुखको अधिकार कटौती गर्न सत्तापक्षको प्रस्ताव
सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्दै सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदहरूले सभा संचालनमा सभामुखलाई प्राप्त तजबिजी अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउँदै सत्तारुढ दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव राखेका हुन् । सत्तारुढ दलका सांसदहरूले फरक-फरक संशोधन दर्ता गराउँदै एउटै आशय राखेका छन् ।
सांसदहरूले कार्यव्यवस्था परामर्श समितिलाई बलियो बनाउँदै सभामुखको अधिकार कटौतीको आशय नियमावली संशोधन प्रस्तावमा राखेका छन् । नियमावली मस्यौदाको नियमा १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था छ ।
जसको उपनियम १ मा प्रतिनिधिसभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले संचालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्याएका विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा बढीमा २१ सदस्य रहने कार्यव्यवस्था परामर्श समिति गठन गर्ने सकिने व्यवस्था छ ।
उक्त नियममा उपनियम ४ थपेर सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने प्रस्ताव सत्तारुढ दलका सांसदहरूले गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ घटकहरू कांग्रेस, रास्वपा, जसपा, एकीकृत समाजवादीका सांसदहरूले सभामुखको अधिकार कटौतीको आशय नियमावलीमाथिको संशोधन प्रस्तावमार्तफ राखेका हुन् ।
प्रकाशित समय : ०७:२५ बजे



















