गृहपृष्ठ सरकारसँग बैंक सञ्चालकहरुको माग : बैंकिङ क्षेत्रलाई सुरक्षा देऊ
सरकारसँग बैंक सञ्चालकहरुको माग : बैंकिङ क्षेत्रलाई सुरक्षा देऊ
बैंक सञ्चालकहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले बैंक विरोधी गतिविधि बढेको भन्दै सरकारसँग बैंकिङ क्षेत्रलाई सुरक्षा दिन माग गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले मंगलबार हेटौंडामा बैंकहरु बन्द गराउन गरिएको संस्थागत धम्कीप्रति खेद प्रकट समेत गरेको छ ।
हेटौंडामा कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरु भएको सीबीफीनका सचिव कुशप्रसाद मल्लीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा सम्वादको माध्यमबाट पहिल्याउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सबै मान्यता भुलेर बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकिनु पर्छ । र वार्ता तथा सम्वादको प्रक्रियामार्फत समस्या समाधान गरिनु पर्छ ।’
प्रकाशित समय : ०७:४५ बजे



















