global ime bank Long Banner Ad

गृहपृष्ठ हङकङमा नेपालको पर्यटन प्रवर्द्धन

हङकङमा नेपालको पर्यटन प्रवर्द्धन

हङकङमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हङकङमा पर्यटकीय सम्भावनाबारे प्रचारप्रसार गरेको छ । हङकङमा आयोजित अन्तरराष्ट्रिय ट्राभल एक्स्पो (आइटिई) मा नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै नेपालका पर्यटकीय सम्भावनालाई अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गरेको हो ।

हङकङ कन्भेन्सन एण्ड एक्जिविसन सेन्टरमा यही जुन ११ तारिख (जेठ २८ गते) देखि आजसम्म आयोजित प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित आठ प्रमुख पर्यटन व्यवसायी कम्पनीको सहभागिता थियो । उक्त प्रदर्शनीका लागि स्थापना गरिएको नेपाल प्याभिलियनले हङकङ तथा अन्तरराष्ट्रिय पर्यटन उद्योगका सरोकार भएका निकायका प्रतिनिधिबीच नेपालको पर्यटकीय गन्तव्य र उत्पादनलाई प्रवर्द्धन गरेको नेपाल पर्यटन बोर्र्डले जनाएको छ ।

प्रदर्शन अवधिभर नेपालको साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्रकृतिमा आधारित पर्यटन, धार्मिक तथा तीर्थाटन विलासी पर्यटन तथा आरोग्य पर्यटनका विविध सम्भावनाका बारेमा प्रस्तुत गरिएको छ । नेपालबाट सहभागी पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय पर्यटन व्यवसायी, सम्भावित साझेदार तथा उपभोक्तासँग सक्रिय व्यावसायिक भेटघाट गर्दै अन्तरराष्ट्रिय बजारलक्षित आकर्षण र भ्रमण प्याकेज तथा अनुकूलित यात्रा योजना प्रस्तुत गरेका थिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाले नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्पदाबारे जानकारी दिएको थिय । नेपालका विश्वप्रसिद्ध गन्तव्य, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन पूर्वाधारका विषयमा प्रस्तुति दिएको थिय ।

कार्यक्रममा परम्परागत नेपाली नृत्य तथा साङ्गीतिक कार्यक्रममार्फत विदेशी आगन्तुकलाई नेपालको बहुआयामिक सांस्कृतिक सम्पदाको झलक प्रस्तुत गरिएको थियो । बोर्डले आगामी दिनमा पनि प्रमुख अन्तरराष्ट्रिय बजारमा नेपालको उपस्थिति विस्तार गर्दै नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका साथै नेपालबाट नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, पर्ल होलिडेज, द ट्रेक नेपाल, एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, ड्रागन होलिडेज, हाई पिक एडभेन्चर, सिनिक एडभेन्चर ट्रेक्स एण्ड एक्स्पिडिसन तथा हिमालय समिट क्लबले सहभागिता जनाएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु