गृहपृष्ठ रामसहाय नै सत्तारुढबाट उपराष्ट्रपति उम्मेदवार
रामसहाय नै सत्तारुढबाट उपराष्ट्रपति उम्मेदवार
सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन् ।
उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नकै निम्ति खड्का नेतृत्वमा रहेको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरु सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरुलाई धन्यवाद दिएर बैठक सकियो ।
उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने समय एक दिन मात्रै बाँकी रहँदा बसेको दोस्रो तहका नेताहरुको बैठकले शीर्ष नेतृत्वबीच छलफलको आवश्यकता देख्नुमा भने सत्तारुढभित्रकै दलहरुले अलग–अलग उम्मेदवार उठाउने निर्णय गर्नु हो ।
शुक्रबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उपराष्ट्रपतिको उम्मेदवाबारे अलग–अलग निर्णय लिएका थिए । जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।
जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित समय : ०७:२५ बजे


















