सेनाको नियन्त्रणमा रहेका सैनिक अधिकृतहरू छुटे
वि.सं.२०७९ फागुन १८ बिहीवार २०:१७
shares

कोर्टमार्सलका लागि नेपाली सेनाले नियन्त्रणमा लिएका सैनिक अधिकृतहरू छुटेका छन् । मेजर जनरल प्रेम शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई बिहीबार साँझ रिहा गरेको सैनिक स्रोतले जनाएकाे छ ।
यसअघि, शाह र तिमिल्सिनाले आफन्तमार्फत दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीमाथि लगाएको अभियोगको सक्कलप्रतिसहित तीन दिनभित्र सशरीर उपस्थित गराउन आदेश दिएको थियो । मेजर जनरल शाहीमाथि कोर्टमार्सल भइरहेको अवस्थामा उनलाई सहयोग गरेको भन्दै शाह र तिमिल्सेनालाई पनि ‘सैनिक विद्रोहको कसुरमा संलग्न भएको’ अभियोगमा सेनाले कारबाही अगाडि बढाएकाे थियाे ।
सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी शाहीलाई सेवाबाट निष्कासनसमेत गरेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि बिहीबार सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट निष्कासित गरिएको हो । यस्तै सैनिक अधिकृतहरू शाह र तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वाेच्चले शाहीकाे पक्षमा आदेश दिएपछि हाजिर हुन जंगी अड्डा पुगेलगत्तै उनी पुस १९ मा पक्राउ परेका थिए ।

























