गृहपृष्ठ सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, के-के छन् विशेषता ?
सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, के-के छन् विशेषता ?
नेपाली बजारमा सुन्रा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपालको लागि सुन्राको आधिकारिक वितरक इटालिया मोटोवर्क प्रालि रहेको छ ।
कम्पनीका अनुसार बढ्दो विद्युतीय सवारी साधनको मागसँगै नयाँ ब्रान्डको स्कुटर सार्वजनिक गरिएको हो । कम्पनीले सुन्राको विद्युतीय ‘हक’ र ‘रोबो एस’ मोडल सार्वजनिक गरेको हो। यी स्कुटरहरूमा सुन्राकै मोटर जडित छन् । यी स्कुटरहरू आरामदायी हुनुका साथै चलाउँदा पनि सहज अनुभूति हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यी स्कुटरहरूमा पावरफुल विद्युतीय मोटर, टिकाउ ब्याट्री र उन्नत विशेषताहरू पाउन सकिन्छ। स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ प्रविधि दिइएको छ जसले ब्रेकिङ सहज र सुरक्षित बनाउँछ । यसमा एन्टी लक ब्रेकिङ प्रविधि पाउन सकिन्छ भने पुरै एलइडी लाइट दिइएको छ ।
रोबो-एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टाको हुनेछ । यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ । यसमा ७२भी२०एएच (डुअल) ब्याट्री दिइएको छ । उक्त ब्याट्रीमा दुई वर्षको वारेन्टी पाउन सकिन्छ ।
यसमा एलइडी लाइटसँगै फोन चार्जिङ, फिंगर प्रिन्ट टच स्टार्ट, कम्बाइन्ड ब्रेक सिस्टमलगायत विशेषताहरू पाउन सकिन्छ । कम्पनीले नेपाली बजारमा रोबो-एसको सुरुआती मूल्य तीन लाख ७९ हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ । नेपाली बजारमा यो सिंगल र डुअल ब्याट्रीमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । यसको टप स्पीड ४५ किलोमिटर प्रतिघण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ देखि १३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसमा भएको ब्याट्रीमा पनि दुई वर्षको वारेन्टी दिने बताइएको छ ।
डुअल ब्याट्री विकल्प सहितको हकको नेपाली बजार मूल्य तीन लाख १७ हजार रुपैयाँ र सिंगल ब्याट्री विकल्पको मूल्य दुई लाख ३६ हजार रुपैयाँ तोकिएको छ ।
प्रकाशित समय : १८:१३ बजे


















