गृहपृष्ठ निगमको ४ ट्यांकर डिजेलमा मिसावट, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु

निगमको ४ ट्यांकर डिजेलमा मिसावट, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु

निगमको ४ ट्यांकर डिजेलमा मिसावट, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु

भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबिन सुरु गरिएको छ ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको हो । टोलीले मेचीनगर-१३, चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ ।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ,’ उनले भने ।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे१ख २१५१, उत्तरगंगा यातायात प्रालीका नाममा रहेको ना७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना७ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।

ती ट्यांकर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्यांकरबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानविन समितिले आजदेखि छानविन थालेको हो । छानविन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।

भारतमा नेपालको तुलनामा मट्टितेलको मूल्य कम रहेको छ । अझ सरकारी कोटाको मट्टितेल झनै सस्तो हुने गर्दछ । नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टितेल मिसाइएको हुनसक्ने आशंका गरिएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्यांकरको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ ।

चारआलीस्थित निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजेलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो । जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ ।

सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्यांकरको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशंका गरिएको हो । मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु