global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठकमा आज कसले के भने ?

प्रतिनिधिसभा बैठकमा आज कसले के भने ?

प्रतिनिधिसभा बैठकमा आज कसले के भने ?

प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरु आधारभूत आवश्यकताकै लागि भाैंतारिनुपरेको बताए । धनी र गरिबले पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ भनी उनले प्रश्न गरे ।

आर्थिक अवस्था कमजोर हुनेले स्वास्थ्य उपचार गर्न नसक्ने गरी मेडिकल माफियाले काम गरेको, छिमेकी देशमा छोटो समयमा अस्पताल बन्ने गरेको उल्लेख गर्दै नेपालमा क्यान्सर अस्पताल भए पनि परीक्षण गर्ने यन्त्र नभएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सडक दुर्घटनाबाट वार्षिक तीन प्रतिशत कूल गार्हस्थ्य उत्पादन गुमाइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले स्विडेन, जर्मनमा सडक दुर्घटना कम गरिएको उदाहरण सुनाउँदै अन्तर्राष्ट्रियस्तरको चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराए । विकास तथा प्रविधि समितिले सडक दुर्घटना कम गर्न दिएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले सडक विभागले बनाएको सडक ठीक छ/छैन भनी जाँच गर्ने छुट्टै निकाय चाहिने माग गरे ।

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले संघीयता लागू भएको स्थानीय तहमा आवश्यक कर्मचारीको कमी हुँदा स्थानीय जनताले सेवा प्रवाहका कठिनाइ भएको बताए । उनले किसानलाई अनुदानभन्दा सहुलियतको व्यवस्था गरेर किसानका उत्पादनका लागि बजार सुनिश्चित गर्न सके मात्र आत्मनिर्भरमुखी कृषि बनाउन सकिने धारणा व्यक्त गरे । उनले संसदमा सत्ता पक्ष र विपक्ष भए पनि संविधान कार्यान्वयनका सम्बन्धमा सबै शक्ति एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

किसानले मल र बीउ समयमै पाउनुपर्छ

स्वतन्त्र सांसद हरि ढकालले किसानको मुद्दा सबैले उठाए पनि सरकारले दिने अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै वडास्तरमै यसको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बीना जैसवालले विगतमा सञ्चालित तर हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न माग गरे । यसले एकातिर रोजागारी सिर्जना हुने र अर्काेतिर आयातमा कमी हुने उनको भनाइ थियो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले नागरिकतासम्बन्धी विधेयक संसदबाट दुई/दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट रोकिनु दुःखद भएको बताए । उनले कानुनको अभावमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसकेकोप्रति सदनको ध्यानाकर्षण गराए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले विगतको सवारी अनुमति चालकपत्रको प्रावधान सच्याई अहिले ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाले अहिले मुलुकमा दुई मापदण्डका सवारीचालक अनुमतिपत्र भएको उल्लेख गरे । साथै उनले सवारी चालक अनुमतिपत्रमा गरिएको खुकुलो मापदण्डले सवारी दुर्घटना बढ्नसक्नेतर्फ ध्यानाकर्षण गराए ।

जनमत पार्टीका सांसद अनिता देवीले मुलुकमा किसानले समयमा मल र बीउ नपाउने तथा सिँचाइको व्यवस्था नहुने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा लाखौं सवारी साधन भए पनि ती सवारी साधनमा प्रयोग हुने इन्धन कहिले पनि कमी नहुने तर किसानले पैसा तिरेर पनि समयमा मल नपाउने किन भनी प्रश्न गरे ।

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मुलुकभर जग्गाको कित्ताकाट नखुल्दा जनतालाई मर्का भएको बताउँदै तत्काल कित्ताकाट खोल्न माग गरे । उनले अहिले लघु वित्त संस्थाहरुले गाउँघरमा चर्काे ब्याज लिएर आतंक मच्चाइरहेको भन्दै यो तत्काल रोक्नुपर्ने बताए । उनले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको टिप्पणी गरे । उनले कसैलाई झुट्टा मुद्दा लगाएर कसैलाई थुन्न नपाइनेसमेत बताए । उनले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको स्वाभिमान र राष्ट्रिय अखण्डता खतरामा पर्ने गरी कुनै काम नगर्न सत्तामा रहेका राजनीतिक दलहरुलाई सुझाव दिए । नेपाली कांग्रेसका प्रदीप पौडेलले विगतको संसद विघटनको कदम गलत सिद्ध भइसकेकाले अव यो संसद त्यसतर्फ सजग रहोस भने । उनले काम खोज्न बाध्य भएर लाखौँ युवा विदेसिनु परेको यथार्थ प्रस्तुत गर्दै स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु