भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह
वि.सं.२०७९ फागुन २ मंगलवार ११:०८
shares

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । नेपाल बाहिरबाट आउने जहाज सिमरा हुँदै मात्र भित्रिन पाउने भएकाले थप प्रवेशमार्गको अनुमतिका लागि भारतलाई आग्रह गरिएको हो ।
काठमाडौंमा सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटवार्तामा अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दा क्वात्राले भने जवाफ दिन नचाहेको परराष्ट्र स्रोतले जनाएको छ । बैठकपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा पनि हवाई प्रवेश मार्गका विषयमा उल्लेख छैन ।
सोमबार बिहान नेपाल आइपुगेका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा दक्षिण एसिया महाशाखाका रामप्रसाद सुवेदीसहित ७ जना थिए । भारतका तर्फबाट सचिव क्वात्राको नेतृत्वमा राजदूत नवीन श्रीवास्तवसहित ७ जना थिए ।

























