गृहपृष्ठ रास्वपाले सरकारबारे लिएन कुनै निर्णय, आज फेरि बैठक बस्दै
रास्वपाले सरकारबारे लिएन कुनै निर्णय, आज फेरि बैठक बस्दै
सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुनः बस्ने गरी सकिएको छ ।
शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर प्रमुख सचेतक परियारका अनुसार आकस्मिक रुपमा बोलाएको बैठकमा कतिपय नेता सहभागी नभएको र भएकाहरुको पनि बोल्ने क्रम नसकिएकाले आइतबार साढे ११ बजे बस्ने गरी शनिबारको बैठक सकिएको हो ।
आइतबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।
रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूलाई दिन माग गरिरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।
पछिल्लो पटक प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन रास्वपालाई प्रस्ताव पठाएका रास्वपाका एक नेताले पुष्टि गरेका छन् ।
प्रकाशित समय : ०६:३१ बजे



















