गृहपृष्ठ ‘बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्’
‘बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्’
महाेत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्की ।
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् ।
शनिबार मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य संघकाे आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा साे कुरा बताएका हुन् । उनले भने, ‘व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।’
पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिक रूपले विपन्न हुने दाबी गरे । उनले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिए ।
माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशका गरी एक सय ७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी गराए । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।
नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।
प्रकाशित समय : २१:१५ बजे


















