global ime bank Long Banner Ad

गृहपृष्ठ भलिवलका भविष्य

भलिवलका भविष्य

भलिवलका भविष्य

रामबहादुर थापा

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए ।

पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् ।

‘खुसी छु, मेहनतको फल पाएँ, यसले भलिबलमा अझ राम्रो गर्न प्रेरित गरेको छ’, २२ वर्षीय रविले भने, ‘दर्शकबाट पाएको माया र हौसलाले पनि उत्साहित छु ।’

गण्डकीका टिम प्रशिक्षक रमेश केसीले प्रतियोगिताभर रविले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । ‘विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले स्पाइक गर्न सक्छन्, उनको एडभान्टेज भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो ।’

‘भलिबल टिम वर्क हो, खेल जिताउन सबै खेलाडीको उत्तिकै भूमिका हुन्छ र पनि यसपालि नतिजा निकाल्न रविले उत्कृष्ट योगदान गरे’, प्रशिक्षक केसीले सुनाए । प्रतियोगिताको अनुभव कम भए पनि रवि प्रतिभावान खेलाडीका रूपमा नेपाली भलिबलमा उदाएको उनको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । ओपन स्पाइकर रविले पछिल्लो नवौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकी प्रदेशबाट खेलेका थिए । चौध–पन्ध्र वर्षको उमेरदेखि भलिबल खेल्न सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् ।

प्रतियोगिताकाअघि हुने अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर नपाएको रविले बताए । उनी अहिलेसम्म कुनै क्लबमा पनि आबद्ध छैनन् । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने रवि बताउँछन् । खेल कौशलसँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु