गृहपृष्ठ गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । यो मुद्दामा सम्भवतः आज फैसला आउन सक्ने बताइएकाे छ ।
सर्वोच्च अदालतले बुधबार लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखेको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार सुनुवाइ नसकिएपछि आजका लागि तोकिएको थियो ।
अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।
अमेरिकी नागरिकता लिएकै बखत पर्यटक भिसामा नेपाल आएका लामिछानेले सञ्चारकर्म गरिरहँदा विवाद भएपछि उनले अमेरिकी नागरिकता त्यागेका थिए । तर, त्यसपछि नेपाली नागरिकता पुनः कायम गराउन कुनै कानुनी प्रक्रिया नचालेको र अमेरिकी पासपोर्ट कायम रहेकै समयमा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको आरोप लामिछानेमाथि छ ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने मागदाबी रिटमा गरिएकाे छ । गृहमन्त्री लामिछानेले भने अमेरिकी नागरिकता त्यागेसँगै आफ्नो नेपाली नागरिकता स्वतः कायम हुने दाबी गरेका छन् ।
प्रकाशित समय : ०८:१५ बजे


















